• १२ साउन २०८१, शनिबार

‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक लोकार्पित

blog

पुस्तक लोकार्पण गर्नुहुँदै डा. राजेन्द्र सुवाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ६ गते । लेखक नयनबहादुर खड्काद्वारा लिखित नयाँ पुस्तक ‘तालिम व्यवस्थापन सिंहावलोकन’ को लोकर्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा डा. राजेन्द्र सुवालले सो पुस्तकको लोकर्पण गर्नुभयो ।

सो अवसरमा डा. सुवालले पुस्तक तालिम प्रशिक्षणमा केन्द्रित भएर लेखिएकाले प्रशिक्षकका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नियत सफा राखेर दृढपूर्वक काम गरेमा सफलता प्राप्त हुने निश्चित रहेको चर्चा गर्नुहुँदै उहाँले ८० वर्षीय खड्काको प्रयास पुस्तकमा आएको बताउनुभयो । 

तालिमले मानिसलाई खारिन सहयोग पुग्ने हुनाले यस पुस्तकको महत्व बढी रहेको बताउँदै डा. सुवालले प्रशिक्षण दिने  र सिक्ने प्रशिक्षार्थीका लागि पनि पुस्तक उपयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो । 

लेखक नयनबहादुर खड्काले पुस्तकले तालिमको डिजाइनबारेमा विस्तृत प्रकाश पारेको बताउनुभयो । आफू लामो समय यही क्षेत्रमा क्रियाशील रहेर काम गरेकाले आफूले जानेका, सिकेका अनुभवलाई पुस्तकमा उतारेको उहाँले चर्चा गर्नुभयो । विभिन्न ६ वटा तालिम दिने डिजाइनलाई पुस्तकमा उतारेको भन्दै उहाँले पुस्तक पाठकका लागि उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । 


डा. दिनेश पन्तले पुस्तकबारे समीक्षा गर्दै पुस्तकले तालिम दिने तौर तरिकालाई प्रष्टरुपमा व्याख्या गरेको बताउनुभयो । तालिम दिइने विभिन्न ६ वटा चरणबारेमा पुस्तकले सिकाउने चर्चा गर्नुहुँदै उहाँले पुस्तकलाई तालिम सुचिको रुपमा व्याख्या गर्नुभयो । पुस्तक लेखकको अनुभवको सङ्गालो भएकाले प्रशिक्षक तथा प्रशिक्षार्थीका लागि पुस्तक उपयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो ।