• १४ वैशाख २०८१, शुक्रबार

डा. गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

blog

काठमाडौँ, पुस ४ गते । आख्यानकार डा. ध्रुवचन्द्र गौतमको ८०औँ जन्मोत्सवका अवसरमा उहाँलाई ‘आविष्कारी आख्यानकार’ उपाधि प्रदान गरिएको छ। 

वसन्त चौधरी फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित बृहत् कार्यक्रममा उहाँलाई उक्त उपाधि प्रदान गरिएको हो। फाउन्डेसनका अध्यक्ष वसन्त चौधरीले करिब सात दशकदेखि सिर्जनाकर्ममा संलग्न रहेर साहित्यमा नयाँ विधाको आविष्कार र प्रयोग गर्न सफल सर्जक गौतमले नेपाली साहित्य क्षेत्रलाई पु-याउनुभएको योगदानको कदर गर्दै उपाधिद्वारा अभिनन्दन गरिएको बताउनुभयो। उहाँले सर्जक गौतमसँग ४३ वर्षदेखि सानिध्यमा रहेर काम गर्दा नम्र बोली, मीठो स्वभाव र सधैँ लेखिरहने बानीसँग परिचित हुने अवसर मिलेको बताउनुभयो।  

कार्यक्रममा ‘डा. ध्रुवचन्द्र गौतम आविष्कारी आख्यानका दशकहरू’ शीर्षकको पुस्तक पनि लोकार्पण गरियो। पुस्तक नेपाली साहित्यफाँटका ५५ जना सर्जकले गौतमका अनेक विधाका कृति सम्बन्धमा, उहाँसँगको सानिध्य, संस्मरण, उत्प्रेरणाबारे लेख्नुभएको लेख, विचारको सँगालोका रूपमा आएको छ। 

लूनकरणदास गङ्गादेवी चौधरी साहित्यिक मन्दिरका अध्यक्ष मेघा चौधरीले डा. ध्रुवचन्द्र गौतमका कृतिहरू अङ्गे्रजी भाषामा पनि अनुवाद गर्न सके अङ्ग्रेजी संस्करणमा पढ्न चाहने र विश्वभरका पाठकसमक्ष नेपाली साहित्यका पुस्तक पुग्ने विश्वास व्यक्त गर्नुभयो।  वि.सं. २००० पुस २ गते जन्मनुभएका सर्जक डा. धु्रवचन्द्र गौतमले करिब १० वर्षकै उमेरदेखि साहित्यमा कलम चलाउन सुरु गर्नुभएको हो। त्यसपछि सात दशक उहाँले साहित्यका विविध विधामा निरन्तर योगदान दिइरहनुभएको छ। 

सर्जक डा. गौतमका चारवटा सहलेखनसँगै ३२ वटा उपन्यास, पाँचवटा संस्मरण, सातवटा नाटक, आठवटा कथासङ्ग्रह, एउटा कवितासङ्ग्रहलगायत ५३ कृति प्रकाशित छन्।