• १४ वैशाख २०८१, शुक्रबार

क्रिकेट टोलीको बिदाइ

blog

नामिबिया भ्रणमको तयारीका लागि भारत प्रस्थान गर्नुअघि बिदाइ कार्यक्रमा नेपाली टोली । तस्बिर : क्यान

काठमाडौं, मङ्सिर ६ गते । नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुन आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले नामाबिया जानु अघि भारतमा एक साता तयारी गर्नेछ । भारतमा तयारी सकेर नेपाली टोली उतैबाट नामिबिया प्रस्थान गर्ने क्यानले जनाएको छ । 

लिग–२ सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाल अहिले सिरिजको छैटौं स्थानमा छ । सिरिजमा २० खेल सकेको नेपालले १७ अङ्क बनाएको छ । 

आठ टोली सहभागी लिग–२ मा २२ खेलबाट २६ अङ्क बनाइको नामिबिया पाँचौं र  २८ खेलबाट ४० अङ्क बनाएको स्कटल्यान्ड दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको ओमानले सबै खेल सकेर ४४ अङ्क बनाएको छ । लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्षतीनमा रहने टोली विश्वकपका लागि छनोट हुनेछन् । 

नामिबिया भ्रमणका लागि क्यानले यसअघिनै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशङ्कर शाह र नन्दन यादव हुनुहुन्छ । नन्दनले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो । 

यसअघि सिरिजको तयारीका लागि युएईसँग घरेलु मैदान कीर्तिपुरमा खेलिएको तीन खेलको एकदिवसीय सिरिजमा स्थान बनाउनुभएका कमलसिंह ऐरी, भीम सार्की र आदिल आलम टोलीबाट बाहिरिनु एको छ । 

भारत जाने नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, क्यानका सदस्य दुर्गाराज पाठक र जेनेरल म्यानेजर बृतान्त खनालले बिदाइ गर्नुभयो ।