• १५ वैशाख २०८१, शनिबार

बाँकेका क्रसर उद्योगको छड्के, दुई ट्याक्टर नियन्त्रणमा

blog

अनुगमन टोली पुगेपछि अवैध उत्खनन्मा संलग्न व्यक्तिले छोडेको ट्याक्टर। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज ४ गते । बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रूपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मङ्गलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।

समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले नदी, खोला र क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो। टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमा क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा.लि. लगायतको स्थलगत अनुगमन गरेको छ। अनुगमन कार्य जारी रहको र साँझसम्म रहने जनाइएको छ। 

अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न रहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो।

नियमित रूपमा अनुगमन नहुँदा जिल्लाका नदी तथा खोलामा अवैध उत्खनन बढेको गुनासो पटक पटक आउने गरेको छ। सोही गुनासोका आधारमा समन्वय समितिले मङ्गलबार छड्के अनुगमन गरेको थियो।

अनुगमन गरिएका अधिकांश ठाउँमा अवैध उत्खनन भइरहको भेटिएको जनाउँदै समितिले सो बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको जनाएको छ।