• २६ वैशाख २०८१, बुधबार

हाम्रो सम्पदा

सिन्धुलीको कमलामाई मन्दिर (फोटो फिचर)

blog

सिन्धुली, वैशाख १५ गते । सिन्धुलीको प्रख्यात मन्दिर मध्ये कमलामाई मन्दिर पनि एक हो। यो कमलामाई मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा रहेको छ । 

समुन्द्र सतहबाट करिब दुई हजार फिटको उचाइमा रहेको छ। कमला नदी र ग्वांगखोलाको सङ्गम भएको ठाउँ कमलामाई नगरपालिका वडा नं. ८ माई स्थानमा पर्दछ । यस मन्दिरलाई धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले निकै नै महत्त्वपूर्ण मानिएको छ।

कमलामाईको सम्बन्धमा “बृहत् विष्णुपुराण” को मिथिला महात्मामा पनि यस बारेमा विस्तृत रूपमा उल्लेख भएको पाइन्छ। मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा माघेसंक्रान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ। उक्त दिन भक्त जनहरूको अत्यधिक भिड हुने गर्दछ।

परम्पराअनुसार कुनै विघन बाधा पर्दा सो निवारण गर्नका लागि र कुनै कामको सफलता प्राप्ति होस भनी पुकार गर्दा कमलामाई देवीलाई पाठी चढाउने भाकल गर्ने भक्त जनहरूमा जन विश्वास रहेको छ। कामना सिद्धि भएमा मकरसंक्रान्तीका दिन मन्दिरमा जाग्राम बसी पाठी बली पनि चढाउँछन्। यी देवीलाई मनोकामना पुरा गर्ने देवीको रूपमा भक्त जनहरूले पुजिइन्छ। जनश्रुतिअनुसार बहिनी कमला हुन भने भागीरथी दिदी हुन्।

कमलाले दिदी भागीरथीलाई निम्ता दिई भागीरथी बहिनी कमलालाई भेट्न मकरसक्रान्तीमा यहाँ आउने जनविश्वास समेत रहेको छ। त्यसैले मकरसंक्रान्तीका दिन कमलामाईमा स्नान गरेमा भारतको भागीरथीमा स्नान गरे सरहको पुण्य मिल्छ भन्ने श्रद्धालुहरूमा विश्वास रहेकोले नै त्यस समयमा तीर्थालु भक्तजनहरूको अत्यधिक घुइँचो हुने गर्दछ। मन्दिरको गर्भ गृहमा कमलामाई लगायत विभिन्न देवताहरूका मूर्तिहरू रहेका छन् भने माथि थुप्रै घण्टाहरू झुन्डिएका छन्। 

यस मन्दिर परिसरमा अन्य विभिन्न देव, देवताहरूको साना मन्दिर र मूर्तिहरू लगायत विभिन्न सिला लेख समेत रहेका छन्। मन्दिर व्यवस्थापन र  संचालानार्थ श्री कमलामाई मन्दिर व्यवस्थापन समितिको पनि गठन गरिएको छ।