• २७ वैशाख २०८१, बिहिबार

गोरखापत्र प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न

blog

गोरखापत्र प्रतिष्ठान शाखाको साधारणसभामा सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।

काठमाडौँ, वैशाख १५ गते । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको ११ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै महासङ्घको लेखा समिति संयोजक लेखनाथ न्यौपानेले गोरखापत्र पत्रकारिताको धरोहर भएकाले सबैले गोरखापत्रबाट पत्रकारिता सिक्नुपर्ने बताउनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानमा लेखन व्यवस्थापनमा सुधार हुँदैगएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको पक्षमा काम गर्न कानुनी जटिलता रहेको भन्दै ती जटिलतालाई फुकाउँदै जानुपर्ने बताउनुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय गोरखापत्रले खोजमूलक समाचार पस्कन थालेको बताउनुभयो । गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले पत्रकार महासङ्घबाट पत्रकारको हकहितको काम हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मणि दाहालले गोरखापत्र राज्यको नभई जनताको हुन थालेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुङ्गेलले आफ्नो तीनवर्षे कार्यकालमा भएका उपलब्धिबारे बताउनुभएको थियो । 

यसैबिच नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविर कार्यक्रममा १६५ जनाको आँखाको परीक्षण गरिएको छ । गोरखापत्र प्रतिष्ठान शाखाले शुक्रबार गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको आँखा शिविर सञ्चालन गरिएको थियो ।