• २७ वैशाख २०८१, बिहिबार

विधेयक अधिवेशनको उपलब्धि शून्यप्रायः

blog

राममणि दाहाल

हेटौँडा, वैशाख १५ गते  । प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो निर्वाचनपछि बसेको बागमती प्रदेशको प्रदेश सभाको तेस्रो अधिवेशन विधेयक निर्माणका दृष्टिले उपलब्धिविहीन बनेको छ । विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनमा प्रदेश सभामा न विधेयक नै दर्ता भयो न त प्रदेश सभाबाट कुनै विधेयक पारित भयो ।

तेस्रो अधिवेशन सुरु भएदेखि अन्त्य भएसम्मको दिनको अवधि ५७ दिन रहे पनि पाँच दिनमा छ वटा मात्र बैठक बसेका थिए । प्रदेश सभा सचिवालयका अनुसार यो अवधिमा शून्य समयको अवस्था शून्य, विशेष समय एक पटक र अधिवेशन पाँच घण्टा ११ मिनेट चलेको थियो । गत फागुन १५ बाट सुरु भएको अधिवेशनको पहिलो बैठक प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारितमा सीमित बनेको थियो । 

दोस्रो बैठक फागुन १६ गते बिहान ११ः३० बजे बस्ने गरी बोलाइए पनि बजेटसम्बन्धी विवाद समाधान नभएसम्म सञ्चालन हुन नदिने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अडानपछि सूचना टाँस गरेर फागुन १७ गते बस्ने गरी स्थगित गरिएको थियो  । गत असारमा प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट समानुपातिक नभएको र विभेदपूर्ण भएको भन्दै एमाले र राप्रपा विरोधमा उत्रिएपछि बजेटसम्बन्धी समस्या समाधान गर्न दोस्रो बैठकबाट कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा विशेष समिति गठन गर्ने सहमतिपछि प्रदेश सभाको बैठक सञ्चालन भएको थियो । 

गत फागुन १७ गते नै बसेको प्रदेश सभाको तेस्रो बैठकमा तत्कालीन उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरी विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । 

फागुन २९ गते बसेको चौथो बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यव्रmम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्नुका साथै प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस भएसँगै दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको थियो । 

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेश सभाको तेस्रो अधिवेशन अवधिमा प्रदेश सभामा पेस भएको एउटा मात्र विधेयक भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सभाको तेस्रो अधिवेशन अवधिमा प्रदेश सभा सचिवालयमा प्रदेश सरकारबाट कुनै पनि विधेयक दर्ता नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवधिमा एउटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ र एउटा विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।” 

प्रदेश सभाको पाँचाँै बैठकले आव २०८०÷८१ को बजेट तथा कार्यव्रmम व्यवस्थापनसम्बन्धी विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत गर्दै प्रदेश सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सत्ताखेलमै सीमित 

केन्द्रमा सत्ता समीकरणको फेरबदलपछि बागमती प्रदेशको तेस्रो अधिवेशनको अधिकांश समय सत्ता जोड घटाउमा बितेको थियो । गत फागुन २३ गते नेपाली कांग्रेसका छ जना मन्त्रीले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

अल्पमतमा परेपछि विश्वासको मत प्राप्त गर्न यो अवधिमा निकै सकसमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीभित्रको विवादका बिच विश्वासको मतका लागि आवश्यक सङ्ख्या ५६ जुटाउनुभएको थियो । विश्वासको मत लिन दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगर ढिला गरी आएपछि दिउँसो ४ः०० बजे मात्र बैठक सुरु भएको थियो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको गत चैत १९ गते बसेको छैटौँ बैठकबाट विश्वासको मत पाएको भोलिपल्ट आलेमगरलाई बिनाविभागीय मन्त्रीमा नियुक्तिसँगै मन्त्रीमण्डल विस्तारलाई पूर्णता दिनुभएको थियो । 

मुख्यमन्त्रीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभाको बैठक सरकारले पूर्णता पाएपछि एक दिन पनि नबसी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सभाको समितिमा चार वटा विधेयक रहेको अवस्थामा विधेयकमाथि छलफल गरी पारित नै नगरी प्रदेश सभाको तेस्रो अधिवेशन बुधबार रातिबाट अन्त्य गरिएको हो । उता प्रदेश सभाको तेस्रो अधिवेशन सकिँदासमेत प्रदेश अन्तर्गतका समितिले अझै समितिको सभापति पाउन सकेको छैन ।