• २६ वैशाख २०८१, बुधबार

मासु भोज (कथा)

blog

महेश आफ्नो दाजुको अन्तिम संस्कार गरेर घाटबाट भर्खरै फर्केका थिए । उनी अत्यन्त शोकमा थिए । उनले प्यारो अभिभावक मात्र नगुमाएर आफ्नो पुर्खौली सम्पत्तिको रेखदेख गरिरहेका दाजु गुमाएको थिए । उनलाई सरसहयोग र सरसल्लाह दिन फुकिंज भनिने १३ दिने दाजुभाइ भेला भइरहेका थिए । उनी आफ्नो मूल घर करिब १० वर्षपछि आएका थिए, केवल दाजुको छोरा नभएकाले आफैँले दागबत्ती दिनुपर्ने बाध्यताले गर्दा । यसअघि उनी धेरै वर्षअघि मुमाको अन्तिम संस्कार गर्न यहाँ आएका थिए । यति वर्षको अन्तरालमा गाउँमा धेरै परिवर्तन भइसकेको जस्तो लागेको थियो उनलाई । 

साँझ परेपछि महेशलाई फुकिंजहरूले एकअर्कालाई केही इसारा गरे जस्तो लाग्यो । एक्कासि एक जना स्थानीय नेताले उनीसँग सोधे–भोज के गर्ने ? महेश भर्खरै अन्तिम संस्कार गरेर फर्केका यिनीहरूलाई भोजको चिन्ता परिसक्यो भन्ने जस्तो लाग्यो तैपनि आफ्नो दुःखमा साथ दिन आएकालाई किन अन्यथा सोच्नु भन्ने ठाने । शायद भर्खरै जस्तो बनेको नजिकैको घाटमा अन्तिम संस्कार गर्दा भोज नखुवाउने भन्ने गाउँलेहरूको समझदारी भएकाले सोधेका होलान् भन्ने ठानेर महेशले जवाफ दिए–“अहिले जे चलन छ त्यो गर्ने नि । आफन्तहरू र दाजुभाइहरूलाई त खुवाउनु नै प¥यो नि ।” 

 एक जना स्थानीय नेता भनाउँदाले थप्यो, “अनि भोजमा मासु राख्ने कि नराख्ने ?” आमाको पालामा बेमासु भोज गरिसकेकाले महेशले निर्धक्कसँग भने, “आमाको पालामा पनि नराखेको, अहिले पनि नराख्ने । हामीले नराम्रो परम्परा तोड्नु पर्छ ।” नजिकै कुरा सुनिरहेकी महिला उत्थानकी अध्यक्षले उनको मनलाई मोड्न सकिन्छ कि भन्ने हिसाबले अगाडि सरेर सुनाइन्, “पोहर साल टोलमा नै एक घरमा मासु भोज र अर्को घरमा बेमासु भोज थियो । सबै मासु भोजतिर लागे, बेमासु भोजमा कोही पनि आएनन् । त्यसैले यहाँ पनि नआउलान्, विचार गर्नुस् दाइ ।”  त्यति भनेर नि महेश नगलेको देखेर एक क्याम्पसमा काम गर्ने व्यक्तिले मनाउन सकिन्छ कि भन्ने आसले सम्झाउन थाल्यो, “मासुमा खास खर्च हुने पनि हैन, मासु त सब बेच्ने हो राँगो काटे पनि । भोजका लागि त खाली हाड, छाला, रगत र आन्द्राभुँडी मात्र राख्ने हो । अरूका अगाडि इज्जत पनि भयो उल्टै मासु बिक्रीबाट फाइदा पनि हुन्छ ।” तैपनि महेशले पट्ट हुन्छ भनेनन् । उनले फेरि बाध्य पार्न सकिन्छ कि भन्ने हिसाबले आफ्नो तर्क अघि सारे, “अरूलाई चै मासु नचलाउने भन्ने तर आफूहरू चाहिँ १३ दिनमा गणेश मन्दिरमा भाले काटेर मासु नखाई नहुने । यो बिल्कुलै राम्रो परम्परा हैन । मासु त राख्नै पर्छ ।” 

एक जना सोझो जस्तो देखिनेले थप्यो, “हैन राँगो नै काट्नु पर्छ भन्ने पनि छैन । अहिले त कसाइलाई भन्यो भने चाहिने जति मासु ल्याइदिन्छ ।” शायद पैसा नभएर पो हो कि महेशले नमानेको भन्ने लख काटेर उही नेता भनाउँदाले भन्यो, “दाइहरूलाई पैसाको खाँचो छ भने के भो र केही दिनका लागि हो, कति चाहिन्छ म दिउँला नि ।” आफूलाई न्यून मूल्याङ्कन गरेकोमा अलि अलि रिस उठे पनि आफ्नो शुभचिन्तक भएर भनेको होला भनेर महेशले कुनै प्रतिक्रिया देखाएनन् तर उनले मासु लुछ्न् आकाशमा गिद्धहरू मडारिरहेको महसुस गरिरहेका थिए । अहिले उहिले जस्तो मासु खान चाडपर्व पर्खन पर्दैन । सधैँ जसो किन्न पाइन्छ र सबैको धेर थोर पैसामा पहुँच भएकाले बेला बेलामा मासु खाइ नै रहन्छन् । तैपनि मानिसहरूले अहिले पनि मासुको लोभ नछोडेको देखेर उनी तीन छक्क परे । 

एसले भन्यो, “उसबेला चाडपर्वमा बाहेक अरू बेला मासु किन्न नपाउने भएकाले अनिवार्य रूपमा राँगो काट्नु पथ्र्यो । अनि यही मासु भोजले गर्दा पनि मानिसहरूले आफ्नो कोही म¥यो भने खेतबारी नै बेच्नु पर्थ्यो । म मासु भोज त गर्दै गर्दिन चाहे खान आऊन् वा नआऊन् । बरु रोटी, चिउरा, तरकारी, मिठाई आदि टन्न खुवाउँछु । यो नै मेरो अन्तिम निर्णय हो ।” 

महेशको अन्तिम निर्णय सुनेपछि उसलाई मनाउन आउनेहरू हार मानेर एकअर्काको मुख हेर्न थाले र एक एक गरी आफ्नो घर जान थाले । जानुअघि महेशलाई सबै जसोले यस्तो भन्न छुटाएनन्, “म त बिहानै खेत जानु पर्छ । भोलि बिहान आउन पाउँदिन, म त बिहानै चरिकोट काममा जानु पर्छ, मेरो त भोलि बिहान बैठक छ आदि ।” 

भोलिपल्ट कसैले नछुने गरेर फुकिंजहरूसँग धारामा नुहाइधुवाइ गर्न जानुपर्ने तर कोही पनि नआउनाले कहिले आफ्नै दुई दाजुभाइ मात्र, कहिले बाहिरियाहरू लिएर गए । राति सुत्न आउनुपर्ने चलन त थियो नै तर कोही “घरमा श्रीमती एक्लै छिन् सुत्न आउन पाउँदिनँ, कोही मलाई त अलि सन्चो छैन राति आउन पाउदिनँ” भन्ने निहुँ पारेर आएनन् । बरु बाहिरिया मानिसहरू आफ्नो परम्परा अनुसार सुत्न आए । 

“बुबामुमाको पालामा फुकिंजहरूले बिहान पनि धारामा लान्थे र राति पनि सुत्न आउँथे । अहिले फुकिंजहरू केवल मासुको लोभमा जम्मा हुँदोरहेछन् बिल्कुल गिद्धहरूको बथान सिनो वरिपरि जम्मा भए जस्तै । समयसँगै मानिसको व्यवहार कति परिवर्तन भइसकेछ” भन्ने महेशको मनमा आयो । १२ औँ दिनको रात १३ दिनको भोजका लागि ल्याएको सब सामग्री प्रदर्शन गर्नु पर्छ र त्यो काँची बडील भनिने भण्डारेको जिम्मामा दिइन्छ । उसले नै भोलिपल्ट भोजको सामग्रीको खटनपटन गर्छ । त्यसैले आफ्नै फुकिंज बडील बस्ने चलन छ । तर फुकिंजहरू एक एक थोक बहाना गरेर बसेनन् र बाहिरियाले नै काम चलाउनु प¥यो । यति मात्र नभई पिण्ड घाटसम्म लाने पनि नभएर बाहिरिया नै गुहार्नु प¥यो । साथै अघि अघि सपरिवार भोज खान आउनेहरू चढाउनुपर्ने परम्पराले गर्दा मात्र परिवारको एक जना मात्र आए र खाइ सकेपछि ठुलो गुण लगाए जस्तो गरेर गए । 

Author

प्राडा श्याम जोशी