• २६ वैशाख २०८१, बुधबार

इलाम र बझाङमा आज मतदान

blog

इश्वरचन्द्र/प्रकाशविक्रम/प्रेम

काठमाडौँ, वैशाख १५ गते । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदै छ । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ । मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ । 

मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगले मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातामा आह्वान गरेको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँकतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना हुन सक्नेमा आयोग सचेत रहेको र त्यस प्रकारको गतिविधि सिर्जना गर्ने वा गराउन खोज्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । 

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले मतदान कार्य निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । आयोगले उपनिर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्नका लागि अपिल गरेको छ । 

आजै गणना

निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा शनिबार नै मतगणना गर्ने तयारी गरिएको जनाएको छ । सहायक प्रवक्ता पाण्डेयले इलाम–२ मा शनिबार रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबार अबेरसम्ममा मतपरिणाम आउने गरी गणना गर्ने पूर्वतयारी भएको छ ।”

बझाङ १(१) मा दुर्गम क्षेत्रमा समेत मतदान हुने भएकाले शनिबार नै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका सङ्कलन गर्न समस्या हुने सहायक प्रवक्ता पाण्डेयले बताउनुभयो । बझाङको साइपाल पालिकाबाट हेलिकप्टरबाट मतपेटिका ल्याइने आयोगले जनाएको छ । शनिबार नै मतपेटिका ल्याइए आवश्यक प्रक्रिया पूरा गरी तत्कालै गणना कार्य सुरु गर्न सकिने उहाँले बताउनुभयो । 

दुई क्षेत्रमा उपनिर्वाचन 

इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन् । सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन् । इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले उम्मेदवारी दिएका छन् । १२ जना उम्मेदवार राजनीतिक दलबाट र सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा (एमाले) बाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बूले उम्मेदवारी दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सुहाङ नेम्वाङ सुवासचन्द्र नेम्वाङका छोरा हुनुहुन्छ । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई उम्मेदवार हुनुहुन्छ । सात जना स्वतन्त्र उम्मेदवार छन् । 

बझाङ १(१) मा ७४ वटा मतदान स्थलमा ९३ मतदान केन्द्र छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सबै मतदान केन्द्रमा मतदानका लागि आवश्यक सबै सामग्री पुगेकाले शनिबार बिहान ७ बजेबाट नै मतदान सुरु हुने जानकारी दिनुभयो । सो क्षेत्रको चुनावमा सात वटा पालिका पूरै र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतदाता सहभागी हुने छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका, मष्टा, तलकोट, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना गाउँपालिका रहेका छन् । 

सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् । मतदानलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिकालगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने छ । 

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट नेपाली कांग्रेसले अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र) ले जनक बुढा र नेकपा (एकीकृत समाजवादी) ले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा कुल ११ जनाको उम्मेदवारी कायम भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सिंह निधन भएका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका जेठा छोरा हुन् । बझाङ १(१) मा स्वतन्त्र उम्मेदवार छैनन् ।