• १४ वैशाख २०८१, शुक्रबार

उपत्यकासहित देशका अधिकांश भागमा भारी वर्षा

blog

काठमाडौं, साउन १५ गते।  आइतबार दिउँसो उपत्यकासहित देशभरका अधिकांश भागमा भारी वर्षा भएको छ। जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यूनचापीय प्रभावका कारण अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भएको हो। अहिले मनसुनको न्यूनचापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतिर पुगेकाले वर्षा बढी भइराखेको छ। 

 मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार साँझसम्म प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनेछ। यो क्रम बुधबारसम्म निरन्तर रहने सम्भावना रहेको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “न्यूनचापीय मनसुनी प्रभावले बुधबारसम्म वर्षा हुने देखिन्छ। पानी परिरहने रोकिँदै नरोकिने भन्ने हुँदैन।’’ मङ्गलबारसम्म यो प्रणालीले भारी वर्षा गराउने उहाँको भनाइ छ। 

निरन्तरको वर्षाले पहाडी र तराई क्षेत्रका नदीको बहाब बढ्दा ती क्षेत्रमा भू-क्षय र पहिरोको सम्भावना छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्णबदली रही विभिन्न स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ। 

महाशाखाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्ने र दैनिक जीवनयापन र यातायात क्षेत्र प्रभावित हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। आइतबार दिउँसो एकसाथ ठूलो वर्षा हुँदा काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। सडकमा पानी जमेर हिँडडुल र सवारी आवतजावतमा समस्या भएको हो।