• १६ भदौ २०८१, आइतबार

बालकको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप

blog

झडपपछि घट्नालाई नियन्त्रणमा ल्याउनलाई परिचालन गरिएका सुरक्षाकर्मी। तस्बिर : लीलाधर वली

घोराही, चैत १ गते।  घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोशित आफन्तले विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। 

प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घटनालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो। 

झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ। प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो,‘मृतकका आफन्तभन्दा पनि अनावश्यक मानिस घटनामा मिसिन आउँदा केही समय स्थिति तनावपूर्ण भएको र अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।’

झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन्।  घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ वर्षीय बालक सुरेश कुँवरको मृत्यु भएपछि पीडित पक्षले अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै घट्नाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बिहीबारदेखि आन्दोलन गर्दै आएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा ल्याउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।  


घट्नाको छानविन गर्न समिति गठन

यसैबिच घट्नाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन भएको छ। बिहीबार बसेको सर्वपक्षीय बैठकले पाँच दिनभित्र प्रतिवेदन बुझाउने गरी सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिको संयोजकत्वमा गठित छानबिन समितिमा चिकित्सकका प्रतिनिधि तीन जना, पीडित पक्षका दुई जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ। सहमतिपछि आन्दोलन स्थगित गर्ने र मृतक बालकको पोष्टमार्टम गर्ने सहमति भए पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि पोष्टमार्टम हुन सकेको छैन।