• ४ जेठ २०८१, शुक्रबार

‘सत्तारुढ गठबन्धनमा सहभागी हुँदैनौं’

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । स्वार्थहरुको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उहाँको भनाइ थियो ।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्ड विश्वास मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गर्ने जिकिर गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको सातबुँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताउनुभयो ।

‘‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदाखेरी बनेको सात बुँदै, आठबुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ । देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो ।,’’ अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘‘यसमा केही धेरै भनिराख्नुपर्दैन । त्यो परिमार्जित सात बुँदा होस् वा आठ बुँदा होस् । त्यसले छर्लङ्ग पार्छ ।’’ अध्यक्ष लिङ्देनले सत्ता केन्द्रि चलखेल आफ्नो पार्टीले नगर्ने पनि बताउनुभयो ।