कालीकोट समाचारदाता
कालीकोट, फागुन ३० गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडामा बेलिब्रिज निर्माणले गति लिएको छ । महावै गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्न सेरावाडास्थित तिला कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो ।
महावै गाउँपालिका–५ र खाँडाचक्र नगरपालिका–८ को सिमा क्षेत्र सेरावाडामा बेलिब्रिज निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । महावै गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा पुल बन्न लागेको हो । तिला कर्णालीमा पुल नभएकाले गाउँमा सडक निर्माण भए पनि महावैको सिधा सडक सम्पर्क छैन । बेलिब्रज बनेपछि गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले पुल निर्माणको ठेक्का खोलेको थियो । दुई करोडमा खोलिएको ठेक्का डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाखमा सम्झौता गरेको छ । असारमा पुल निर्माण सक्नुपर्ने अवस्था छ । भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले असारमा बेलिब्रिजको काम सम्पन्न गर्नुपर्ने छ । यो वर्ष पुल निर्माण सक्नुपर्ने भए पनि कार्यालयसँग बजेट एक करोड मात्र भुक्तानी दिन मिल्ने अवस्था छ । इन्जिनियर पाण्डेले काम छिटो सकेमा मन्त्रालयसँग बजेट माग गरेर पूरै भुक्तानी दिन पनि सकिने भएकाले कामको अन्तिममा बाँकी बजेट अर्को वर्ष भुक्तानी गर्ने गरी सम्झौता भएको बताउनुभयो ।
कर्णाली राजमार्गको सेरीघाटमा रहेको बेलिब्रिजलाई लगेर सेरावाडामा निर्माण गरिने छ । सेरीघाटमा पक्की पुल लागिसकेकाले त्यहाँको पुल नै सेरावाडा ल्याएर जोड्ने गरी सम्झौता भएको कार्यालयको भनाइ छ ।
महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले तिला नदीमा पुल नभएकाले महावै गाउँपालिकाभरिका बासिन्दा राष्ट्रिय राजमार्गसँग जोडिन नपाएको बताउनुभयो ।
यसअघि स्थानीय सेरावाडामा आएर झोलुङ्गे पुलमार्फत गाउँपालिका पैदल जाने गरेका थिए । बिरामी भए पनि स्ट्रेचरमा लिनुपर्ने बाध्यता थियो । गाउँमा बिरामी भए वा गाउँका बिरामी उपचारबाट घर ल्याउँदा उकालो र भिरालो बाटोमा स्ट्रेचर वा डोकोमार्फत लिने र ल्याउने गरेका थिए । गाउँमा सबैतिर सडक निर्माण भइसकेकाले पुल निर्माणपछि महावैका बासिन्दा सहज रूपमा सडक यात्रा गर्न पाउने बताइन्छ ।