• १२ मंसिर २०८१, बुधबार

लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना

blog

मुगु समाचारदाता

मुगु, फागुन ३० गते । छायानाथ रारा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना थालेको छ । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय मुगुको सहकार्यमा सचेतना थालिएको हो । 

छायानाथ रारा नगरपालिकाका प्रमुख सकारात्मक कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई फागुन पहिलो हप्ताबाट दुव्र्यसनविरुद्ध सचेतीकरण थालिएको छ । सुधारगृह मुगुका अध्यक्ष नरेश भामका अनुसार लागुऔषधले गर्दा घरपरिवार, समाज र मानसिक तनाव, कलह बढ्ने, आर्थिक नोक्सानी हुने मात्रै नभई मानिसको अकालमै मृत्यु हुने जस्ता समस्या बढेकाले सचेतना अभियान सुरु गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय मुगुको अनुसन्धान अनुसार साथीभाइको सङ्गतले लागुऔषधको लतमा फसेका विद्यार्थीलाई लक्षित गरी सचेतना कार्यक्रम थालिएको हो । लागुऔषध प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको अवस्था छ ।  

छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले जिल्लामा दिनप्रतिदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएकाले त्यस्ता गतिविधि रोक्न विद्यालयस्तरबाटै काम सुरु गर्नुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्रबहादुर थापाले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि संलग्न हुने गरेकाले यो सचेतना कार्यक्रम विद्यार्थीका लागि फलदायी हुने बताउनुभयो । समाजमा यसको न्यूनीकरणका लागि यो कार्यक्रम निकै प्रभावकारी भएकाले सबै टोलबस्तीमा सञ्चालन गरिने उहाँको भनाइ छ ।