• १६ वैशाख २०८१, आइतबार

विश्वासको मत लिँदै प्रधानमन्त्री

blog

काठमाडौँ, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । 

विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसक्नु भएको छ । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । 

निर्वाचनपछि पहिलो पटक नेकपा (एमाले) सँगको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो । उहाँले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाउनुभएको थियो । गठबन्धनको विपक्षमा रहेको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।  एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक प्रधानमन्त्रीले १७२ मत पाउनुभएको थियो । विपक्षमा ८९ मत परेको थियो । 

कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर हुनुभएका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।  प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।  

प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ । तर एमालेका वसन्त नेम्वाङ बिरामी रहेकाले मतदानको सहभागिता निश्चित छैन । 

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन् । केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना छ । 

गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेका छन् । प्रतिनिधि सभाको बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।