• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताको अपिल

blog

मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरुको बैठक ।

काठमाडौं, फागुन २९ गते । सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् ।

मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरुको बैठकमा बोल्नुहुँदै पार्टीका शीर्ष नेताहरुले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न अघिल्लो सरकारले गति लिन नसकेका कारण सरकार पुनर्गठन गर्नुपरेको बताउनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

‘‘सहकार्यमा रहेका पार्टीका नेताहरुले अध्यक्षको निर्वाचनमा एकतावद्ध भएर आफ्ना साझा उम्मेदवार नारायण दाहालको पक्षमा मतदान गर्न अपील गर्नुभयो । त्यसको साथसाथै यो सरकार खालि सरकार बनाउनको निम्ति मात्रै पुनर्गठन गरिएको होइन । यो सरकार निश्चित उद्देश्यको साथ पुनर्गठन गरिएको हो ।,’’ परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘विशेषतः अहिलेको मुख्य कार्यभार भनेको सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न यसअघि बनेको सरकारमार्फत प्रयत्न गर्दाखेरी तीव्रतापूर्वक गति लिन नसकेको कारणले गर्दाखेरी त्यही उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको भनेर नेताहरुले भन्नुभयो । त्यही राष्ट्रिय कार्यभारलाई पूरा गर्नको निम्ति राष्ट्रिय सभाको निर्वाचनमा पनि राष्ट्रिय सभालाई सही ढङ्गले सञ्चालन गर्न हाम्रो साझा उम्मेदवार दिएका छौँ ।’’

मङ्गलबार बसेको  राष्ट्रिय सभा बैठकमा राष्ट्रियसभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार युवराज शर्माका बिचमा प्रतिस्पर्धा हुँदैछ ।