• ५ जेठ २०८३, मङ्गलबार

सप्तरीमा फुटपाथ अतिक्रमणले सडक जोखिम बढ्यो

blog

राजविराजको सडकमा जथाभावी पार्किङले सडक अवरुद्ध । तस्बिर स् देवराम यादव

देवराम यादव
सप्तरी, जेठ ५ गते ।
राजविराज नगरपालिका सहित जिल्लाका विभिन्न चौकहरूमा बिच सडकमा तरकारी हटिया, जथाभावी पार्किङ तथा फुटपाथ अतिक्रमणका कारण सडक जोखिम बढ्दै गएको छ । यसले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ ।

सडकमा जथाभावी पार्किङ, फुटपाथमा साइनबोर्ड, पसल तथा हाटबजार सञ्चालन गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् । राजविराजस्थित अदालत रोडमा जिल्ला अदालतदेखि राम मन्दिरसम्म सडकमै पार्किङ गर्ने र तरकारी पसल थाप्ने प्रवृत्तिले दैनिक रूपमा सडक अव्यवस्थित हुने गरेको छ ।

त्यस्तै मेनरोडस्थित नेता चौकदेखि हनुमाननगर रोडको मोडसम्म र राम मन्दिरदेखि नेता चौकसम्मको सिरहा रोडमा दैनिक जाम लाग्ने गरेको तथा पैदल यात्रुलाई समेत हिँड्न कठिन भएको सुभाषचन्द्र यादवले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले हालसम्म पार्किङका लागि उपयुक्त स्थान निर्धारण गर्न नसक्दा तथा फुटपाथ व्यवसायीको व्यवस्थापन नहुँदा समस्या झन् बढेको हो ।

यसैगरी, जिल्लाभरिबाट आउने इ–रिक्साका कारण पनि सडकमा जाम बढ्ने गरेको स्थानीयको भनाइ छ । इ–रिक्साका लागि छुट्टै पार्किङ स्थान तोक्न आवश्यक रहेको उनीहरूले बताएका छन् ।

पटक–पटक ट्राफिक व्यवस्थापनका लागि आवाज उठाइए पनि कार्यान्वयन नहुँदा जथाभावी पार्किङले नगरको सौन्दर्यसमेत बिग्रिएको स्थानीयको गुनासो छ । नगर प्रहरी नहुँदासम्म समस्या समाधान गर्न कठिन हुने वडा अध्यक्ष यादवले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी का प्रमुख प्रहरी नायब निरीक्षक नवनीत कुमार झाले जथाभावी पार्किङले सडक साँघुरो बनाउने र पैदल यात्रुको असावधानीले दुर्घटनाको जोखिम बढाएको बताउनुभयो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले ट्राफिक व्यवस्थापनका लागि छिट्टै पहल थालिने बताउनुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरी समस्या समाधानका लागि निर्णय गरिने जानकारी दिनुभयो ।

उहाँले नगर प्रहरी भर्ना प्रक्रिया अगाडि बढिसकेको भन्दै नगर प्रहरी आएपछि जथाभावी पार्किङ नियन्त्रण तथा फुटपाथ खाली गराउने कार्य सहज हुने बताउनुभयो ।