फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ५ गते । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंहचौरका टहरा मङ्गलबार बिहान डोजर लगाएर हटाइएका छन् । त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफैं अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो ।
अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा टहरा रहेका थिए । सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो ।

टहरा हटाइएसँगै व्यवसायीहरूले महानगरपालिकाको सहरी सौन्दर्यीकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख धनराज आचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ । वि.सं. २०३५ सालदेखि व्यवसायीहरूले सो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । यसअघि विद्यालयले पटक–पटक सूचना जारी गरी स्थान खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले खाली गरेका थिएनन् ।
अमरसिंह माविका प्रधानाध्यापक बलराम पोखरेलका अनुसार विद्यालयले भविष्यमा भवन निर्माण गरेमा पहिले व्यवसाय गर्दै आएकालाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको छ ।
पोखराको पुरानो र विद्यार्थीबिच लोकप्रिय अमरसिंह माध्यमिक विद्यालय यस क्षेत्रको नमुना विद्यालय हो । हाल यहाँ करिब दुई हजार आठ सयभन्दा बढी विद्यार्थी र करिब १५० शिक्षक तथा कर्मचारी रहेका छन् ।


