धनगढी समाचारदाता
धनगढी, जेठ ५ गते । दक्षिणतर्फबाट नेपालमा गर्मी छल्न आएका आगन्तुक चराले नेपालमा आफ्ना बचेरा हुर्काइरहेका छन् । स्वर्गचरी, कोइलीलगायतका आगन्तुक चराले यहाँ आफ्नो बचेरा हुर्काइरहेका हुन् । वसन्त, ग्रीष्म र वर्षा ऋतु नेपालमा बिताउने यी चरा दक्षिण भारत, म्यान्मार, श्रीलङ्का, थाइल्यान्ड, दक्षिण अफ्रिकालगायतका देशबाट नेपालमा आउने गर्छन् । मार्चमा नेपाल आएका गर्मी सिजनका आगन्तुक चरा छ महिनासम्म नेपालमा रमाउने र बच्चा हुर्काएर फर्कने गरेका जनाइएको छ । यहाँ बच्चा कोरल्ने र हुर्काउने गरेका यी चरा अगस्ततिर फर्कने गरेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।
दक्षिणतर्फ नेपालभन्दा तुलनात्मक रूपमा बढी गर्मी हुने गरेकाले चराहरू यता आएर रमाउने, बच्चा कोरल्ने र हुर्काउने गरेको बताइन्छ । यस्ता चरा गाउँघर र वनक्षेत्रमा रमाउने गर्छन् । दक्षिणतिरबाट नेपाल आउने गर्मी सिजनको आगन्तुक चरामध्ये निकै आकर्षक स्वर्गचरीले गाउँघरमै पुगेर बच्चा कोरल्ने र हुर्काउने गरेका चराप्रेमीको भनाइ छ । यसै गरी कोइली प्रजातिका कोहो कोइली, जुरे कोइली, ठुलो जुरे कोइली, बिउकुहियो, पपिहा कोइली, काफल पाक्यो, कुक्कु कोइली, पूर्वी कोइली, सानो कोइली, फुस्रो सानो कोइली र हरित कोइलीले वन क्षेत्रमा बच्चा कोरल्ने गरेका जनाइएको छ ।