• ५ जेठ २०८३, मङ्गलबार

बाँके प्रहरीमा एक महिनामा २०५ मुद्दा, १८७ पक्राउ

blog

प्रहरीले बरामद गरेको भारतबाट भित्र्याइएको अवैध सामान । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ ५ गते ।
जिल्ला प्रहरी कार्यालय बाँके र मातहतका प्रहरी युनिटहरूले वैशाख महिनामा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी गतिविधिमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा कुल २०५ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १० वटा जघन्य तथा गम्भीर प्रकृतिका, १३४ वटा सामान्य अपराध तथा ३४ वटा आर्थिक अपराधसम्बन्धी मुद्दा रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९ वटा मुद्दा दर्ता भई ११ जना पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक दिपक पातलीले सार्वजनिक गरेको विवरणअनुसार चालु मुद्दाका क्रममा १८७ जना प्रतिवादी पक्राउ परेका छन् भने १९ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ ।

फैसला कार्यान्वयनतर्फ ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १० वर्ष दुई महिना २० दिन कैद तथा ४७ लाख २७ हजार ४३० रुपियाँ बिगोरक्षतिपूर्ति असुल गरिएको प्रहरीले जनाएको छ ।

महिला तथा बालबालिकासम्बन्धी १०४ उजुरीमध्ये ८३ वटा फर्छ्यौट गरिएको छ भने घरेलु हिंसाका ७४ उजुरीमध्ये ५४ वटा मिलापत्र वा अदालतमा पठाइएको छ । त्यस्तै ठाडो उजुरीतर्फ ४५८ मध्ये ३४८ वटा फर्छ्यौट भएका छन् ।

हराएका व्यक्तिहरूको खोजीमा पनि प्रगति भएको प्रहरीले जनाएको छ । महिनाभर ३६ महिला, २५ बालिका, सात बालक, एक ज्येष्ठ नागरिक पुरुष र ११ पुरुष हराएकोमा २३ महिला, १९ बालिका र पाँच बालक फेला परेका छन् भने केही अझै बेपत्ता रहेका छन् ।

लागुऔषध नियन्त्रणतर्फ ३५ मुद्दा दर्ता भई ४८ जना पक्राउ परेका छन् । सो क्रममा ७३९ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर, ३२० नाइट्राजेपाम ट्याब्लेट, १७४ ट्रामाडोल क्याप्सुल, ५० ग्राम गाँजा, ४ ग्राम ६४० मिलिग्राम चरेश तथा अन्य लागूऔषध बरामद गरिएको छ ।

आत्महत्याका सात घटना दर्ता भएका छन्, जसमा सबै झुण्डिएर आत्महत्या गरिएको र चार पुरुष तथा तीन महिला रहेको विवरणमा उल्लेख छ । विपद् व्यवस्थापनतर्फ १७ घटनामा ५७ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको तथा १२५ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १०७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा दुई हजा ४९५ जना लाभान्वित भएका छन् । प्रहरी नायब उपरीक्षक पातलीका अनुसार अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, सीमा निगरानी र समुदाय–सुरक्षा साझेदारीलाई थप प्रभावकारी बनाउँदै अघि बढाइएको छ ।