खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), जेठ ५ गते । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र बर्सेनि हुने भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ । सरकारले यस वर्ष पनि पुराना पानीका स्रोत तथा भूक्षय नियन्त्रणका लागि थुप्रै काम गरिरहेको जनाएको छ ।
प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सो कार्यालयले दार्चुला र पहाडी जिल्ला बैतडीका विभिन्न ठाउँमा पानीका मूल संरक्षण र भूक्षय नियन्त्रणका लागि विभिन्न काम गरेको जनाएको छ ।
प्रदेश सरकारमार्फत चालु आव २०८२/८३ मा बर्सातका बेला वा विभिन्न कारणले भएको भूक्षय नियन्त्रण गरेर घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाउने कार्य गरिएको सो कार्यालयका प्रमुख विनोद शाहले जानकारी दिनुभयो । कार्यालयले बैतडी र दार्चुलामा भूक्षय नियन्त्रण, खोला किनारमा तटबन्ध निर्माण र पानीका मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्ने कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा दार्चुला र बैतडीमा गरेर १५४ वटा योजना कार्यान्वयनमा रहेको छन् । तीमध्ये वैशाख मसान्तसम्ममा ४४ योजना पूरा भएर २९.२७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
उहाँले बाँकी योजनाको निर्माण तीव्र गतिमा भइरहेको र असारसम्म सबै योजना सम्पन्न भइसक्ने बताउनुभयो । प्रदेश सरकारले चालु आवमा भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलालाई भूक्षय नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान संरक्षण र रिचार्ज पोखरी निर्माणका गर्न कुल १५ करोड २७ लाख रुपियाँ उपलब्ध गराएको थियो । उहाँले पुँजीगत रकममध्ये चार करोड ४७ लाख दुई हजार १० रुपियाँ खर्च भइसकेको पनि बताउनुभयो ।
भूक्षय नियन्त्रणका लागि सरकारले बजेट विनियोजन गरेर आफ्नो खेतीयोग्य जमिन र घर जोगाइदिएकोमा पुर्चौडी नगरपालिका–३, मल्ली चननपानीका स्थानीय नरबहादुर बोहोराले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बर्सातका बेला सधैँ पहिरोले खेतबारी लग्थ्यो । अहिले केही मात्रामा त्यसलाई नियन्त्रणको कार्य भएको छ । हामी खुसी छौँ ।” भूक्षय भएको ठाउँमा ग्याबिन जालीसहितको ढुङ्गाको पर्खाल लागाइएको छ । कार्यालयले हालसम्म खोलाको कटानबाट बस्ती जोगाउन दार्चुला र बैतडीमा गरेर २८ वटा तटबन्ध निर्माणका योजना सञ्चालन गरेको छ भने सिँचाइका तीन, पहिरो तथा भूक्षय नियन्त्रणका नौ योजनाको निर्माण सम्पन्न गरेको छ । खोला किनारमा तटबन्ध निर्माणपछि कटानको समस्या केही हदसम्म कम भएको दुहुँ गाउँपालिका–४, दार्चुलाका स्थानीय सुरेन्द्रबहादुर बमले बताउनुभयो ।