मुसीकोट समाचारदाता
रुकुमपश्चिम, फागुन २९ गते । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाउँदै समाजवादी मोर्चा रुकुमपश्चिमले राप्ती राजमार्गको रुकुमपश्चिम सडकखण्ड अन्तर्गत पितिबाङ खोलामा पक्की पुल निर्माणको काम अघि बढाउन माग गरेको छ ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपालगायतका अन्य दल आबद्ध छन् । उनीहरूले अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माण कार्य अघि नबढाए सङ्घर्षका कार्यक्रम थाल्ने बताएका छन् । मोर्चाका संयोजक गोविन्द रोकाका अनुसार जिल्लाको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पितिबाङ खोलामा पुल निर्माणको काम लामो समयदेखि अलपत्र छ ।
संरक्षण निर्माण सेवा प्रालिले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असार ८ गते उक्त पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको साढे चार वर्षसम्म पुलको एकातर्फको जग निर्माणबाहेक अन्य प्रगति हुन सकेको छैन ।
सडक डिभिजन कार्यालयका अनुसार संरक्षण निर्माण सेवाले मूल्य अभिवृद्धि करबाहेक चार करोड १२ लाख ३९ हजार ३७५ रुपियाँमा निर्माणको जिम्मा लिएको छ । उहाँका अनुसार राप्ती राजमार्ग अन्तर्गत झुल्नेटा हुँदै मुसीकोटसम्म सडक सञ्चालन भएको १७ वर्षसम्म पनि पितिबाङ खोलामा पुल नबन्दा यात्रु, यात्रुवाहक सवारीसाधन, उद्योगी व्यवसायीका मालवाहक गाडी आवतजावतमा समस्या भोग्दै आएका छन् । पितिबाङ खोलामा पुल नबन्दा विशेष गरेर वर्षायाममा समस्या हुने गरेको छ । खोला बढेसँगै सवारीसाधनको आउजाउ ठप्प हुने गरेको छ ।
ज्ञापनपत्रमा सडक डिभिजन कार्यालय चौरजहारी, संरक्षण निर्माण सेवा प्रालि., जिल्लाबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय, मुसीकोट नगरपालिकालाई समेत पहलकदमीका लागि अनुरोध गरिएको छ ।