• २३ वैशाख २०८२, मङ्गलबार

संस्कृति संरक्षण र सीप हस्तान्तरणका लागि आमा समूहलाई पञ्चेबाजा

blog

आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण कार्यक्रम । तस्बिर : शङ्कर केसी

शङ्कर केसी,

सल्यान, वैशाख २३ गते । सल्यानको बागचौर नगरपालिकाले लोपोन्मुख अवस्थामा रहेको मौलिक नेपाली बाजाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । नगरपालिकाको ३ स्थित खालीको समाज सुधार स्वास्थ्य आमा समूहलाई एक सेट पञ्चेबाजा प्रदान गरिएको हो ।

नगरप्रमुख जनकराज गौतमले स्थानीय संस्कृतिको संरक्षण र सीपको पुस्तान्तरणमा नगरपालिका सक्रिय रहेको बताउनुभयो । उहाँले विशेषगरी ग्रामीण क्षेत्रमा बजाइने परम्परागत बाजाको रूपमा रहेको पञ्चेबाजा अहिलेको पुस्तामा हराउने अवस्थामा पुगेकाले त्यसको संरक्षणमा सामुदायिक संस्थाहरूको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “हामी अहिले पुरानो पुस्ताबाट सिकेको सीप र कला नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा लागेका छौं,” नगर प्रमुख गौतमले भन्नुभयो ।

समाज सुधार स्वास्थ्य आमा समूहले यसअघि पनि आफ्नो आन्तरिक स्रोत परिचालन गर्दै दमाह लगायतका परम्परागत बाजाहरू खरिद गरिसकेको जनाएको छ । गाउँका विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा पञ्चेबाजाहरू प्रयोग गर्दै आएको समूहले जनाएको छ । यसबाट समूहलाई आर्थिक रूपमा पनि फाइदा पुगेको छ ।