गाईघाट (उदयपुर), वैशाख २२ गते । चौदण्डीगढी नगरपालिका –४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका –४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका –२० का २३ वर्षीय योजन राई रहेका छन् ।
हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा –४ बर्खेडाँडाको सडकमा रोकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिनुभयो ।
हाल ट्याक्टर चालक उदयपुरको चौनपा –४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।