अविनाश चौधरी
धनगढी, वैशाख २३ गते। भारतको औपचारिक भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली आज स्वदेश फिर्ता भएको छ।
औपचारिक भ्रमण सकेपछि टोली लखनउबाट स्थलमार्ग भएर स्वदेश फिर्ता भएको हो। भारत सरकारको आमन्त्रणमा शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो। टोलीले दिल्ली, देहरादुन र लखनउको भ्रमण गरेको छ।
भ्रमणको क्रममा मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र तीन मन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो। त्यस क्रममा विविध विषयमा छलफल गरिएको थियो।
भारत भ्रमणबाट फर्केपछि मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरी यो भ्रमणले भविष्यमा सुदूरपश्चिम प्रदेशलाई धेरै फाइदा पुग्ने बताउनुभयो। उहाँले खास गरेर संघीयता र यस प्रदेशलाई बलियो बनाउने विषयमा भारतसँग कुराकानी भएको उल्लेख गर्नुभयो।
भारत भ्रमणको क्रममा विशेष गरेर लगानी सम्मेलन, पर्यटन विकास, कृषि, ऊर्जा, कनेक्टिभिटी लगायतको विषयमा भारतसँग छलफल भएको मुख्यमन्त्रीको भनाइ थियो। यस्तै, लागुऔषधसहित सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि छलफल भएको भन्दै उहाँले थप्नुभयो,“यस विषयमा राज्यमन्त्री र दुवै प्रदेशका मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ।”
मुख्यमन्त्री शाहले पलिया–गौरीफन्टा रोडलाई दुई लेनको बनाउन र खक्रौलादेखि भारतको तिकुनियासम्मको रोड बनाउनका लागि पनि भारतलाई आग्रह गरेको बताउनुभयो। त्यस्तै, दुवै देशबिच युथ एक्सचेन्जका विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले यहाँका विद्यार्थी त्यहाँ गएर र त्यहाँ विद्यार्थी यहाँ आएर केही कुरा सिक्ने विषयमा छलफल भएको जानकारी दिनुभयो।
मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी ओलीको पनि चाँडै भारत भ्रमण हुने उल्लेख गर्नुभयो। “त्यसका लागि भारतले कतिपय तयारी धेरै अगाडि बढाइसकेको मैले त्यहाँ जानकारी पाएँ”, उहाँले भन्नुभयो। यस्तै, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि आफूले निम्तोसमेत दिएको उहाँको भनाइ छ। भ्रमणका लागि आमन्त्रण र सम्पूर्ण व्यवस्थापनका लागि उहाँले भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।