• २४ वैशाख २०८२, बुधबार

भू-राजनीतिमा लैङ्गिक सवाल : समावेशीता भान्सादेखि सुरु गर्नुपर्छ

blog

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, नेकपा (एमाले) नेत्री डा. विमला राई पौड्याललगायत ।

काठमाडौं, वैशाख २३ गते । नेपालमा भू–राजनीतिक र भू–आर्थिक बहसमा लैङ्गिक समानताको सवाल घरको भान्सादेखि सुरु हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

मिडिया एडभोकेसी ग्रुप र फ्रेडरिच इबर्ट स्टिफटङ् को संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित नेपालको भू–राजनीतिक र भू–आर्थिक बहसमा लैङ्गिक समानता’ विषयमा आयोजित छलफल कार्यक्रममा सो छलफल भएको हो ।

भू–राजनीतिक र भू–आर्थिक बहसमा लैङ्गिक समानताको विषय अन्तर्गत देश–विदेशका ठूला–ठूला राजनीतिक तथा आर्थिक विषय मात्र नभइ घरभित्रको हरेक जिम्मेवारी बाँडफाँड हुनुपर्ने विषयदेखि नै समानताका लागि पहल गर्नुपर्नेमा विज्ञले जोड दिएका  छन् । 

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले महिला आन्दोलनको मर्म आफ्नो आमा, छोरी र श्रीमती सम्झेर बुझ्नुपर्ने कुरामा जोड दिनुभयो।

संविधानमा महिला प्रतिनिधित्वको विषय सुनिश्चित भए पनि स्थानीय तहमा कार्यान्वयनका लागि समस्या भइरहेको उहाँको भनाइ छ । 

यस्तै, पूर्वमन्त्री एवम् नेकपा (एमाले) की नेता डा. विमला राई पौड्यालले महिला र पुरुषको विशेषता फरक–फरक हुने गरेको बताउनुभयो । उहाँले भू–राजनीतिक र भू–आर्थिकको विषय नेपालमा नयाँ छलफलको रुपमा रहेको बताउनुभयो । 

कार्यक्रमका सहजकर्ता पत्रकार बबिता बस्नेतले भू–राजनीतिक र भू–आर्थिक अन्तर्गत देश–विदेशका राजनीतिक तथा आर्थिक दृष्टिकोणबाट छलफल हुने गरे पनि हालसम्म लैङ्गिक दृष्टिकोणबाट प्रभावकारी छलफल हुन नसकेको बताउनुभयो ।

हरेक घरको भान्सादेखि कार्यालय लगायत सबै ठाउँ समावेशी बन्नुपर्ने विषय यस अन्तर्गत थप छलफल गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा पूर्व राजदूत शर्मिला पराजुली ढकाल, पत्रकार प्रतिक प्रधान, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, पूर्व सांसद, पूर्व सुरक्षाकर्मी,  मानव अधिकारकर्मी र पत्रकारको सहभागीता रहेको थियो ।