प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख २३ गते । नेपाली काँग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा मङ्गलबारदेखि जय नेपाल कप रौतहट जिल्ला अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेस रौतहट जिल्ला सभापति तथा मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले गर्नुभयो । कोटिहोम खेल मैदानमा सञ्चालित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस गौर, मध्य रौतहट मल्टिपल क्याम्पस गरुडा, सुरत रामकेवल मल्टिपल क्याम्पस गुजरा तथा कटहरिया मल्टिपल क्याम्पस कटहरिया रहेको छ ।
यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस चन्द्रपुर, श्रीदेवी सीटीइभीटी कलेज माधवनारायण, लक्ष्मी श्री मल्टिपल क्याम्पस समनपुर तथा अभियान एजुकेशनल कन्सल्टेन्सी गौर रहेको छ ।
प्रतियोगिताको लिग म्याच वैशाख २९ गतेसम्म सञ्चालन हुने छ । वैशाख ३० गते सेमिफाइनल र ३१ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले उपाधिसहित एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।