• १३ साउन २०८१, आइतबार

पाँचपोखरी सफाइ अभियान

blog

काठमाडौँ, फागुन २८ गते । प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रवर्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँच दिने सरसफाइ अभियान सम्पन्न गरिएको हो । 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यु भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिनुभयो । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरिएको बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिका, नेपाल पर्यटन बोर्ड र न्यु भिजन नेपालको मुख्य आयोजनामा तथा गरिमा भ्वाइस टुर एण्ड ट्राभल्सलगायत संस्थाको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलको सूचीमासमेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जनैपूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभाबी प्रयोगले वातावरणमा असर पर्ने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । रासस