• ५ माघ २०८१, शनिबार

सर्लाही र महोत्तरीको जङ्गलमा फैलियो डढेलो

blog

सर्लाहीको फूलजोर चोक नजिक वनमा लागेको डढेलो । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन २८ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरीको जङ्गल क्षेत्रमा केही सातादेखि लागिरहेको डढेलो फैलिएको छ । दिउँसो हावाहुरी चल्न थालेसँगै राजमार्ग छेउछाउका घना जङ्गलमा लागेको डढेलो थप क्षेत्रमा बढ्दै गएको हो ।

डढेलोका कारण वासस्थान गुम्दा वन्यजन्तु समस्यामा परेका छन् । राजमार्गको डिल (किनारा) सम्म नै डढेलो सल्किरहेको देखिन्छ । सडकलाई छुने गरी डढेलो सल्किँदा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन ओहोरदोहोर गर्न नै जोखिम हुन थालेको छ । दिनानुदिन फैलँदो डढेलो नियन्त्रणका लागि वन कार्यालय र उपभोक्ताले चासो देखाएका छैनन् । 

वनमा लागेको डढेलो नजिकका घर तथा वन कार्यालयहरूका घाटगद्धीमा सल्कने जोखिम बढेको छ । शनिबार मात्रै वनको डढेलो सल्किएर बाँके चोकस्थित सबडिभिजन वन कार्यालयको घाटगद्धीमा आगलागी भएको छ । वन कर्मचारी मात्रैले आगो निभाउन नसकेपछि दमकलको सहयोग लिनुपरेको छ । काठ थुपारेर राखिएको ठाउँ (घाटगद्धी) मा मानिसले पानी हालेर तथा हरियो स्याउलाले मात्रै आगो निभाउन नसकेपछि हरिवन नगरपालिकाबाट दमकल मगाएर डढेलो निभाइएको हो । 

सर्लाहीका डिभिजन वन प्रमुख मन्जुर अहमदले दमकल, वन कर्मचारी, प्रहरी र उपभोक्ता मिलेर घाटगद्धीमा लागेको आगो निभाइएको जानकारी दिनुभयो । उहाँले घाटगद्धी वरपर सरसफाइसहित पूर्व तयारी गर्दा गर्दै पनि आगलागी भएको बताउनुभएको छ । 

डिभिजन वन प्रमुख अहमदले सबै ठाउँमा लागेको डढेलो वन कार्यालयले मात्रै निभाउन असम्भव रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । “वन डढेलो भनेको ठुलो विपत्ति हो, वनका कर्मचारीले मात्रै निभाउन सम्भव हुँदैन,” डिभिजन वन प्रमुख अहमदले भन्नुभयो, “यसमा आम उपभोक्ता र वन समितिले पनि भूमिका खेल्नुपर्छ ।”

उहाँले वनमा डढेलो लाग्न नदिन जनचेतना जगाउनका लागि बर्सेनि प्रचारप्रसारको काम गर्दै आइरहेको बताउनुभयो । वन प्राविधिकका अनुसार अब सुक्खायामभर वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । डढेलो लगाएपछि पालुवा पलाउने गलत धारणा बोकेर वनमा बस्तुभाउ चराउन जाने चरुवा तथा स्थानीयले डढेलो लगाइदिँदा नियन्त्रणमा चुनौती थपिएको डिभिजन वन प्रमुख अहमदले बताउनुभयो । 

स्थानीयका अनुसार यो वर्ष अहिलेसम्म पूर्व पश्चिम राजमार्ग क्षेत्र आसपास पर्ने सर्लाही तथा महोत्तरी खण्डको सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा धेरै नै डढेलो लागिरहेको छ ।