• १४ मंसिर २०८१, शुक्रबार

सुक्खा पहिरोले अवरुद्ध कोरिडोर सञ्चालन

blog

बलेवा (बागलुङ), फागुन २८ गते । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । कोरिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सने पहिरो पन्छाएपछि सोमबारदेखि सडक सञ्चालन भएको हो ।

कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन् ।

पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो । यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण कोरिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । शनिबारदेखि उक्त खण्डमा मालवाहक ट्रक अलपत्र परेका थिए । दुईतर्फी एक्स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताउनुभयो । रासस