विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ ५ गते । सप्तरीको विष्णुपुर गाउँपालिका मा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइ–कटाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का ३० जना महिलालाई लक्षित गर्दै ४५ दिने सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको हो ।
तालिमको सोमबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले सहभागी महिलालाई सीपमूलक सिलाइ–कटाइ तालिम प्रदान गर्नुका साथै सिलाइ मेसिनसमेत उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा घरेलु आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
तालिममा सहभागी महिलाले व्यावसायिक सीप हासिल गरी आफ्नै गाउँ–ठाउँमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा तथा तालिममा सहभागी महिलाको उपस्थिति रहेको थियो । विगतका वर्षमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा समेत महिलालक्षित सीपमूलक तथा आयमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।