• २ जेठ २०८२, शुक्रबार

दि ओरिएण्टल इन्स्योरेन्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई आर्थिक सहयोग

blog

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीका अध्यक्ष आरआर सिंह जाजरकोट भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्नुहुँदै ।

काठमाडौं, फागुन २८ गते । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपियाँ आर्थिक सहयोग  प्रदान गरेको छ ।

जसमध्ये १० लाख रुपियाँ जाजरकोट भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख स्कुले विद्यार्थीका लागि समता शैक्षिक गुठीमा प्रदान गरिएको छ ।

केन्द्रीय कार्यालय नयाँ दिल्ली भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आर.आर.सिंह तथा भ्रमण टोलीमा संलग्न महाप्रबन्धक रेखा मोहन्ती ठाकुर र कम्पनीका नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी. चक्रवर्तीले उक्त रकम बराबरका चेक हस्तान्तरण गर्नुभएको हो । 

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक लगायत उच्च पदस्थ पदाधिकारीहरू यही फागुन २२ देखि २४ गतेसम्म नेपाल कार्यालयको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणको मुख्य उद्देश्य नेपालमा बिमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको छ ।

सो क्रममा अध्यक्ष सिंहले कम्पनीद्वारा बजारमा ल्याइएको युवा लक्षित नयाँ बिमालेख बिक्रीको शुभारम्भ पनि गर्नुभएको थियो ।

दि ओरिएण्टल इन्स्योरेन्सले, नयाँ दिल्लीको शाखा कार्यालयको रूपमा नेपालमा स्थापना भएको थियो । यस शाखाले स्थानीय आवश्यकता अनुसार सम्पत्ति, मोटर, मेरिन, इन्जिनियरी, व्यक्तिगत दुर्घटना, स्वास्थ्य बिमालगायत ठुला-ठुला उद्योग, कलकारखाना पुल, जलविद्युत जस्ता संरचनाको प्रत्यक्ष बिमा गर्ने तथा नेपालस्थित स्थानीय बिमा कम्पनीहरूसँग पुनर्बिमामा समेत सहकार्य गर्दै आइरहेको ब्यहोरा विज्ञप्तिमा उल्लेख छ ।