ललितपुर, फागुन २८ गते । ललितपुर महानगरपालिले कुसुन्ती चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । सम्भवतः नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो ।
सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठुला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माणका लागि अनुमति मागेको थियो ।
संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको हो ।
पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरै जनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशे पुल बनाउने निधो गरेका हौँ ।’’ उहाँले अन्यत्रको आकाशे पुल सद्धे व्यक्तिका लागि समेत असहज भएको बताउनुहुँदै लिफ्टसहितको निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बालबालिका, ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ ।’’ ललितपुर महानगरको वडा नं. १३ मा निर्माण हुने यो पुलको निर्माण अवधि एक वर्ष रहेको छ ।
वडा नं.१३ का वडा अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिन चार वर्षभन्दा धेरै समय लागेको बताउनुभयो । ढिलै भए पनि अनुमति दिएकोमा विभागलाई उहाँले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘ यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रोलागि खुसीको कुरा हो ।’’
आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट सहमति प्राप्त यो आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति-मनि बुद्ध जेभि, काभ्रेपलान्चोकसँग चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ रुपियाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । इन्जिनियर पौडेलले यो पुल नेपालकै पहिलो पुल भएको दाबी गर्दै सडक दुर्घटनाको जोखिमलाई न्यून गर्ने प्रष्ट पार्नुभयो ।
आयोजनाको परामर्शदाता कम्पनी डी.बि. मल्टि इन्जिनियरिङ प्रा.लि.का विनोद न्यौपानेले यो आकाशे पुलले यात्रुलाई सडक सुरक्षासँगसँगै सहरको सौन्दर्यीकरणका लागि समेत सहयोग पुग्ने बताउनुभयो । सडक दुर्घटनामा अत्यधिक भएर धेरैले मृत्युवरण गर्नु परेको अवस्थाको पुल निर्माणपछि अन्य हुने उनले प्रष्ट पार्नुभयो ।
यो आयोजनाको निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधि चन्द्र बहादुर लामाले गुणस्तरमा कुनैपनि सम्झौता नगरी समयभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यसका लागि स्थानीय नागरिक, महानगर, सडक विभाग लगायत सम्पूर्णको सहयोग अपरिहार्य छ ।’’