• ११ मंसिर २०८१, मङ्गलबार

स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २८ गते । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै पूर्णिमा थारु र नेपालगन्ज–१६ जयसपुरका हसिब जसगढलाई पक्राउ गरेको हो । एक जना नेपालगन्ज ११ का जसगढ केही रकम लिएर फरार भएकोले उनको खोजी भइरहेको छ । 

उहाँले पक्राउ परेकाहरूले सो रकम कहाँबाट के कामका लागि ल्याएका हुन् वा उक्त रकम कसको हो भन्ने बारेमा गहिरिएर अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरीले उनीहरूको साथबाट नगद रकमसहित बैङ्कका विभिन्न भौचरहरू समेत बरामद गरेको छ । 

बरामद गरिएको रकम हुन्डी कारोबारका लागि प्रयोग गर्ने गरिएको हो कि भन्ने प्रश्नको उत्तरमा बाँकेका प्रहरी प्रमुख एसपी बोहोराले सो बारेमा अनुसन्धान भइरहेकोले अहिले नै यकिनका साथ केही भन्न नसकिने बताउनुभयो । 

नेपालगन्जको न्युरोडमा एउटा सटर भाडामा लिएर पक्राउ परेका र फरारहरूले हुण्डी कारोबार गर्दै आएको आशङ्का भने गरिएको छ ।