• १३ साउन २०८१, आइतबार

डेङ्गु विरुद्धको सचेतना अभियान सुरु

blog

अमरराज नहर्की

तनहुँ, फागुन २८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सुरु गरेको छ । पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोग तीव्र गतिमा फैलिएकाले रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।

विगत लामो समयदेखि आँबुखैरेनी लगायत आसपासका सहर बजारका विभिन्न क्षेत्रहरूमा शीघ्र रूपमा डेङ्गु ज्वरोको सङ्क्रमण फैलिएकोले सचेतना जगाउन अभियान सञ्चालन गरिएको आँबुखैरेनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अगमराज उपाध्यायले बताउनुभयो ।

उपाध्यायले भन्नुभयो, डेङ्गु ज्वरो प्रभावित प्रमुख क्षेत्रहरूमध्ये हाम्रो गाउँपालिका जोडिएर आएको र यस रोगको सङ्क्रमणबाट अकल्पनीय रूपमा जनधनको क्षति पुगेकोले वर्षात सुरु हुने समय प्रारम्भ हुन लागेको अभियान चलाएको उहाँले बताउनुभयो । समयमानै सजगता अपनाउनु पर्ने भएकोले डेङ्गु ज्वरो लाग्न नदिन पूर्व तयारी रोकथाम तथा लामखुट्टे नियन्त्रणका प्रभावकारी काम समयमा सञ्चालन सबै वडालाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको वासस्थान खोजी गरी फुल पार्ने ठाउँ र लार्भा नष्ट गर्न “खोज र नष्ट’’ अभियान गरिएको उपाध्यायले बताउनुभयो । लामखुट्टेको सम्भावित वासस्थानको पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिन आम सरोकारवालाहरूलाई पालिकाले आइतबार विज्ञप्तीमार्फत् आह्वान समेत गरेको छ । 

अभियानको क्रममा आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्ने खाडलहरू पुर्ने र टिनका डब्बाहरू, थोत्रा टायरहरू, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने कार्यक्रम सञ्चालन गर्न पालिको  आग्रह गरेको छ ।

बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घर बाहिर खेतबारी, हाँस, संगुर, बङ्गुर फार्ममा ननिस्किने, सावधानी पूर्वक दैनिक सरसफाइ गर्ने, खेतको पानी, नालीमा जमेको पानिमा लामखुट्टेले फुल पारेर आफ्नो सङ्ख्या वृद्धि गर्ने हुँदा त्यस्ता स्थानहरूमा “खोज र नष्ट गर’’ अभियान सञ्चालन गर्ने आग्रह गरिएको छ । 

घरको झ्याल, ढोकामा जाली लगाउने तथा सुत्दा सधैँ झुलको प्रयोग गर्ने, बिहान र साँझमा घर बाहिर निस्कन परेमा पुरै शरीर ढाक्ने कपडा लगाई लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ । एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी साथै वान्ता हुने, पखाला लाग्ने, हिँड्न र बोल्न नसक्ने र श्वास फेर्न गाह्रो हुने, अचेत हुने आदि भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।