राममणि दाहाल
हेटौँडा, फागुन २८ गते । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव बागमती प्रदेशको प्रदेश सरकारमा पनि परेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धन टुटेर केन्द्रमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलको गठबन्धन बनेसँगै बागमती प्रदेशको सत्ता समीकरण प्रभावित भएको हो ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कांग्रेसले यस प्रदेशका माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
केन्द्रमा बनेको सत्ता समीकरण अनुसार नै यहाँ नयाँ समीकरणको चर्चा सुरु भए पनि मूर्त रूप पाउन सकेको छैन । सङ्घमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिएपछि मात्र यस प्रदेशमा सत्ता समीकरणको टुङ्गो लाग्ने भएको हो ।
सत्ता समीकरणमा दलको सहमतिमा यथास्थितिमा जाने वा नेतृत्व परिवर्तन गर्नेबारे बहस भइरहेको छ ।
नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले केन्द्रमा सत्ता समीकरणमा आएको परिवर्तनसँगै यहाँको समीकरण पनि परिवर्तन भएको बताउनुभयो । उहाँले सत्ता समीकरण परिवर्तन भए पनि अहिलले नै निर्णयमा पुग्ने अवस्था नरहेको बताउँदै सङ्घका प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र प्रदेशमा फेरिएको समीकरण अनुसार आवश्यक प्रव्रिmया अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले यही ३० गते विश्वासको मत लिने तयारी छ, केन्द्रमा सबै प्रक्रिया टुङ्गो लागेपछि प्रदेशमा आवश्यक प्रक्रिया सुरु हुन्छ ।”
केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत जुटाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनलाई हाम्रो नेपाली पार्टीको साथ र समर्थन आवश्यक हुन्छ ।
११० जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा सरकार गठनका लागि बहुमत पु-याउन ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ तर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनसँगै ५५ जना प्रदेश सभा सदस्य छन् । नयाँ सत्ता समीकरणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन नगर्दा बहुमत पु-याउन दुई जना प्रदेश सभामा सदस्य रहेको हाम्रो नेपाली पार्टीको समर्थन अनिवार्य हुन्छ ।
यसैबिच बागमती प्रदेशमा गत असारदेखि थाती रहेको बजेट भागबन्डासम्बन्धी विवाद समाधान गर्न गठित विशेष समितिको बैठक यहाँ आइतबार बसेको छ ।
प्रदेश सभाबाट गठित आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यव्रmम व्यवस्थापनसम्बन्धी विशेष समितिको बैठकमा यही मङ्गलबार प्रदेश सभामा पेस गरिने प्रतिवेदन तयारी गर्न छलफल भएको छ ।
विशेष समितिका संयोजक गोविन्द लम्सालले बजेट सम्बन्धमा रहेको विवाद समाधान गर्न छलफल भई सरकारलाई सुझाव दिने केही बुँदामा मस्यौदा तयार भएको जानकारी दिनुभयो ।
उहाँले ११ सदस्यीय समितिमा रहेका सात जना सदस्यको मात्र उपस्थिति रहेको र थप सदस्यसहित सोमबार बस्ने बैठकले उक्त मस्यौदामाथि सहमति बनाएर प्रतिवेदन तयार गरिने बताउनुभयो ।
तत्कालीन विपक्षी दल एमाले र राप्रपाले बजेट विभेदपूर्ण भएको भन्दै बजेटमा आफ्नो माग सम्बोधन गर्न माग गर्दै आएपछि बजेटसम्बन्धी विवाद समाधान गर्न कांग्रेसका प्रमुख सचेतकसमेत रहनुभएका लम्सालको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो ।
प्रदेश सभामा प्रतिनिधित्व रहेको नेपाल मजदुर किसान पार्टीबाहेकका दलको सहभागिता रहेको सो विशेष समितिमा प्रदेश सभा सदस्यहरू इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डा. दिनेश देवकोटा, प्रभात तामाङ, वसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आलेमगर, मधुसूदन पौडेल र शैलेन्द्रमान वज्राचार्य रहनुभएको छ ।
मङ्गलबार प्रदेश सभाको बैठक बस्नुपहिले दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । समितिले प्रदेश सभाको बैठकको कार्यसूची तय गर्ने जनाइएको छ ।