अमरराज नहर्की
तनहुँ, फागुन २७ गते । जिल्ला प्रशासन कार्यालय तनहुँबाट दश जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता लिएका हुन् ।
गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै हालसम्म सो सङ्ख्यामा नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भएपनि अझैपनि केही कानुनी जटिलताले सो प्रकृतिको नागरिकता वितरण गर्न सहज नभएको गौतम बताउनुहुन्छ ।
कानुनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने रहेको तर कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाण पत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रजिअ गौतमले बताउनुभयो । कानुनी जटिलताको बावजुत पनि आवश्यक प्रक्रिया पुरा गरेकालाई नागरिकता पाएसँगै सहज भएको प्रजिअ गौतमले बताउनुभयो । खासगरी नागरिकताकै अभावमा अध्ययन, रोजगारी एवम् अन्य सरकारी तथा गैरसरकारी सेवा प्रवाहमा समस्या भोग्दै आएका व्यक्तिहरूलाई नागरिकता पाएसँगै सबै सेवा प्रवाहमा सहज पहुँच पुगेको गौतमको भनाइ छ ।
नेपालको संविधान २०७२ जारी हुनुअघि नेपालमा जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बाबुआमा दुवै नेपाली भएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्था थियो । सो अवस्थामा बाबुको पहिचान नभएका नागरिकहरू नागरिकताविहीन हुँदै आएका थिए । तर संविधान प्रदत्त अधिकारलाई कार्यन्वयन गर्न सरकारले नागरिकता विधेयक जारी गरी बाबुको पहिचान नभएकालाई पनि आमाको नामबाट नागरिकता दिने व्यवस्था सुरु गरेपछि सम्बन्धित नागरिकहरू लाभान्वित भएका छन् ।
आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्ता लगायत कुनै पनि कागजपत्रमा बाबुको नाम नखुलेको सन्तानहरूको हकमा आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने प्रअिज गौतम बताउनुहुन्छ ।
बुबाको पहिचान नभएको, बुबा पत्ता नलागेको आमा मात्रै भएको सन्तानहरूको हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यता लगायतको कागजपत्रको आधारमा आमाको नामबाट नागरिकता दिइने कार्यालयले जनाएको छ ।