• १० मंसिर २०८१, सोमबार

पर्याप्रेमको गुञ्जन

blog

मानव र प्रकृतिबिचको अन्तर सम्बन्धबाट वाताबरणको अवस्था निर्धारण हुने गर्दछ र त्यसको प्रभाव व्यक्ति, समाज, राष्ट्र तथा समस्त प्राणी जगतमा पर्ने गर्दछ । तर वर्तमान सन्दर्भमा मानव र प्रकृतिबिचको सम्बन्धमा असन्तुलन स्थिति सृजना भई मानिस तथा जीव जन्तुहरूले विभिन्न प्रकारका बिपत्ति, सङ्कट तथा अबरोहहरूको सामना गर्नु परेको कुरालाई कवि कृष्ण बाउसेले पर्याप्रेमको गुञ्जन कविता सङग्रह मार्फत व्यक्त गरेका छन् ।

सामान्य रूपमा भन्नु पर्दा पर्याप्रेमको गुञ्जन कविता सङग्रह भित्रका अधिकांस कविताहरू पर्यावरण दर्शनमा आधारित देखिन्छ । पर्यावरणभित्र मानव, वातावरण, वस्तु, प्रकृतिका विविध सृजना तथा प्रव्रिmयाका साथै यसको अन्तर सम्बन्धबाट उत्पन्न परिणामबाट मानव तथा अन्य जिव जन्तु (पशु–पन्छी) र अन्य पक्षहरूको अवस्था स्थितिमा आउने परिवर्तन तथा प्रभाव जस्ता कुराहरूलाई कविले सङ्ग्रहका कविताहरूमा समेटन खोजेको पाईन्छ । पर्यावरणको सन्तुलनको लागि प्रकृति र मान्छेबिचको सम्बन्धमा सन्तुलन हुनु जरूरी हुन्छ । मानव निर्मित तथा प्रकृति सिर्जित वस्तु तथा तत्वहरूबिचको सन्तुलनले पर्यावरणको अवस्था निर्धारण गर्दछ । प्राणी जगत्मा जीवको सृष्टि हुने गर्दछ जीवले जगत्को संरक्षण गर्नु पर्दछ नत्र जीव आफै सङ्कटमा पर्दछ भन्ने कुराको मान्यतालाई कविले आत्मसात गरेको पाईन्छ । पर्यावरण्भित्र जीवन र जगत्को अवस्था निर्धारित हुन्छ र यसैमा जीवन चव्रmको गति निर्भर हुन्छ । तसर्थ पर्यावरण सन्तुलनको लागि प्राकृतिक र मानव निर्मित बस्तुबिच सन्तुलन हुनु जरूरी छ उक्त कार्यप्रति मानिस स्वयं जिम्मेवार हुन्छ । 

दिन प्रतिदिन प्रकृति बिनास भईरहेको विविध घटना–परिघटना, अवस्था, स्थितिका दृष्यहरू तथा परिदृष्यहरूलाई सङ्ग्रहका कविताहरूमा प्रस्तुत गरेको  पाईन्छ । प्राकृतिक सम्पदाहरूको बिनास गर्ने, नदिनालाको अतिक्रमण तथा दोहन गर्ने, बनजङ्गल फँडानी गर्ने, जङ्गली पशु पन्छीहरूको बासस्थान नष्ट गर्ने, जैविक विविधता नष्ट गर्ने जस्ता कार्यहरूबाट उत्पन्न परिणामबाट व्यक्ति, समाज तथा राष्ट्रलाई पर्ने जाने हानी नोक्सानीको बारेमा कविले चिन्ता व्यक्त गरेका छन् । 

काव्य सिर्जना सन्दर्भमा कविले कतिपय कवितामा प्रकृति बिनास सम्बन्धमा भइरहेका विविध क्रियाकलाप, घटनाक्रम, वस्तुस्थिति, परिणाम आदिलाई दृष्टान्तको रूपमा लिएका छन् । तिनै कुराहरूमा केन्द्रित भएर केही कवितामा चिन्ता, पीडा व्यक्त गर्नुको साथै बिद्रोह र असन्तुष्टि जाहेर गर्दै सतर्कता र साबधानीको लागि सचेतकको भूमिका निर्बाह गरेको पाईन्छ । साथै केही कवितामा प्रकृति बिनास सम्बन्धी विविध समस्या समाधान गर्न सकिने कुरामा आशावादी रहेको पनि देखिन्छ । यस कुरालाई हेर्दा त्यस्ता कविताहरू प्राकृतिक विनास र सङ्कटको समाधानको लागि चेतना प्रवाह गर्ने अस्त्रको रूपमा कार्य गर्नमा सहयोगी हुनेछ भन्न सकिन्छ ।  

कतिपय कविताका सन्दर्भहरू आफ्नै देशभित्र मेल खाने खालका छन् भने केही कविता विश्वव्यापी सन्दर्भमा पनि मेल खाने खालका छन् । यसरी हेर्दा कविले विश्वका  विकसित र सम्पन्न राष्ट्रहरूमा देखिएका प्रकृति र वाताबरण सम्बन्धी समस्याहरूलाई पनि सम्बोधन गर्ने प्रयास गरेको छन् । मानिसले आफूले बनाएको नियम आफैले उल्लङ्घन गर्ने गर्छ । तर, प्रकृतिले आफूले बनाएको नियम आफैले उल्लङ्घन गर्देन । जब मानिसले प्रकृतिको नियमलाई उल्लङ्घन गर्छ र उसको कार्यमा हस्तक्षेप गर्छ, तव प्रकृतिले त्यसको प्रतिकार गर्न थाल्छ फलस्वरूप प्राकृतिक प्रकोप हुन थाल्दछ र त्यसबाट हने क्षति मानव तथा अन्य प्राणीहरूले ब्यहोर्नु पर्छ भन्ने कुरालाई कविले उदाहरण सहित कवितामा व्यक्त गरेको पाईन्छ । 

आजको विश्वमा एकातर्फ भौतिक विकास चरम उत्कर्षतर्फ उन्मुख हुँदै गइरहेको र अर्कोतर्फ प्रकृति बिनास हुँदै गैरहेको असन्तुलीत परिस्थितिको परिणामको नियती मानव, प्रकृति तथा अन्य जीवजन्तुले भोगिरहेका कुरा कविताहरूमा व्यक्त गरिएका छन् । विभिन्न औद्योगिक कलकारखानाहरूको स्थापनाबाट उत्पादित वस्तुहरूबाट मानव जातीले सुविधा भोग गरे पनि उक्त वस्तुहरू उत्पादनको सिलसिलामा उत्पन्न हुने धुवाँ तथा विभिन्न हानिकारक ग्यास तथा रसायनले मानव स्वास्थ्य, प्रकृति तथा वाताबरणमा पु¥याउने हानीप्रति चिन्ता व्यक्त गरेको पाईन्छ । उनले वायु प्रदुषणबाट परेको असरबाट प्रभावित पन्छीहरूको पिडालाई कवितामा यसरी व्यक्त गरेको पाईन्छ :

वन मासेर 

हामी चराहरूलाई बेघर बनाउने ऊ ।

कालो धुवाँ उडाएर 

प्राणवायुको मुहानलाई विषाक्त बनाउने ऊ ।

जथाभावी विषादी छरेर

परागसेचन कर्ममा जुटिरहेका  

हामी पुतली र मौरीहरूलाई सोत्तर बनाउने ऊ । (उसले आकाशमा विष घोलिरहँदा : पृष्ठ ४४) 

विषय वस्तुको हिसाबले अन्य साहित्यिक कविताभन्दा फरक भएकोले कविता पढ्दा पाठक वर्गहरूले छुट्टै रसस्वादन गर्न पाउँछन भन्न सकिन्छ । तर, सरल भाषा, शब्द तथा बिम्बहरू प्रयोग गरी प्रस्तुतीलाई सरल बनाएकोले पाठक बर्गले सहजै बुझ्न सक्ने देखिन्छ । कवितामा भाव पक्ष र बस्तु पक्ष दुवै प्रबल देखिन्छ । अधिकांश कविताहरू प्रकृति र वातावरणसँग सम्बन्धित भए पनि त्यसभित्रका विविध पक्षहरूलाई सम्बोधन गरी लेखिएको हुँदा कविताहरू रोचक लाग्ने खालका  छन् । सङ्ग्रहभित्रका कविताहरूद्वारा प्रवाहित चेतनाले वाताबरण तथा प्रकृति संरक्षण र पर्यावरण सन्तुलन गर्ने कार्यमा केही सहयोग मिल्ने कुरामा आसाबादी रहन सकिन्छ । 

कृति : पर्याप्रेमको गुञ्जन

विधा : पर्यावरण कविता

कृतिकार : कृष्ण बाउसे

प्रकाशक : पर्यावरण साहित्य अभियानका लागि स्वदेश प्रकाशन प्रा.लि.

संस्करण : पहिलो, वि.सं. २०८०, विश्व पर्यावरण दिवस 

  जुलाई ५, २०२३

मुद्रक : सहारा प्रिन्ट कनेक्सन,

डिल्लीबजार

मूल्य : रू ३००/– 

   

Author

कुन्दनकुमार पन्त