• १३ साउन २०८१, आइतबार

नश्ल सुधार गरिएका बाख्राप्रति आकर्षण

blog

फिक्कल गाउँपालिका –३ चनौटेमा किसानलाई उपहारस्वरुप निःशुल्क बितरण गरिएको नश्ल सुधार गरिएका बाख्राका पाठी । तस्विर– बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, फागुन २४ गते । सिन्धुलीको फिक्कल गाउँपालिकाका विपन्न किसानहरू नश्ल सुधार गरिएको बाख्रापालन व्यवसायप्रति आकर्षित भएका छन् ।

फिक्कल गाउँपालिका र हेरफेर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई निःशुल्क नश्ल सुधार गरिएका बाख्रा वितरण गरेपछि उनीहरू त्यसप्रति आकर्षित भएका हुन् ।

स्थानीय बाख्राभन्दा नश्ल सुधार गरिएका बाख्राबाट बढी आम्दानी लिन सकिने भएपछि किसान त्यसप्रति आकर्षित भएका फिक्कल गाउँपालिका –३ चनौटेकी किसान हिमा श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले पनि नश्ल सुधार गरिएका दुई वटा बाख्रा उपहार स्वरूप निःशुल्क पाएको छु । मैले ती बाख्राबाट पहिलो बेतमा ब्याएका दुई वटा पाठी बहिनी समूहको अर्को किसानलाई निःशुल्क दिई सके ।’

नश्ल सुधार गरेका बाख्राबाट जन्मिएको पाठापाठी उन्नत जात र बढी आम्दानी लिन सकिनेखालको हुने उहाँले बताउनुभयो । फिक्कल गाउँपालिकाका छ वटै वडामा सामूहिक सरोकार समाज (सिसिएस) को साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम २०७८ मङ्सिरदेखि सञ्चालन हुँदैआएको गाउँपालिकाले जनाएको छ ।

सिसिएसका अध्यक्ष नवराज पहाडीका अनुसार छ वटै वडामा ४८ वटा समूह गठन भएको छ । ती मध्ये १२ वटा मूल समूह र ३६ वटा बहिनी समूह रहेका छ । कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमबाट एक हजार दुईसय घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

ती सबै वडामा गरी नश्ल सुधार गरिएका २१६ वटा बाख्रा र ४१ वटा उन्नत जातको ब्याडे बोका वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो । पालिका भरिमा ९० वटा आधुनिक खोर निर्माण भइसकेको र एउटा खोर निर्माण गर्न किसानलाई दश हजार रुपियाँ अनुदान दिएको उहाँले बताउनुभयो ।

सो कार्यक्रमअन्तर्गत कृषिलाई आधुनिकीकरण गरी उत्पादनमा जोड दिने उद्देश्यले  किसानलाई प्रविधि, उपकरण सहयोग, टनेल वितरण, किम्बु, बडहर, नेपियर, अम्रिसो, बकाइनो, इपिललगायतका उन्नत जातको घाँसका बिरुवा वितरण हुँदै आएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत किसानको उत्पादनलाई सहकारीमार्फत बजारीकरण गर्ने गरी काम भइरहेको बताउनुभयो । ‘फिक्कलमा किसानलाई बाख्रापालनसहित कृषि तथा पशुपालनसँग जोडिएका अरू पनि आय–आर्जनको काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘पालिका भरिमा चार हजार घरधुरी छ । ती घरधुरीमा यो कार्यक्रम पुगाउने  प्रयास भइरहेको छ ।’

गाउँपालिकाले महिलालाई कृषि र पशुपालनको क्षेत्रमा घरमै बसेर आम्दानी लिन सक्ने कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको अध्यक्ष सुनुवारको भनाइ छ ।