• १३ साउन २०८१, आइतबार

कारागारमा पाँच गुणाभन्दा बढी कैदी

blog

त्रिवेणी (रुकुम पश्चिम), फागुन २३ गते । रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी एक सय ५० जना कैदीबन्दी राखिएको छ । विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका एक सय ५० कैदी तथा थुनुवा रहेका छन् ।

पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थुनुवा छन् । क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको छ । त्यसै गरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो । 

कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक-पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यवस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थुनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो । 

हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारागार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ७० वर्षमाथिका चार कैदीबन्दी छन् । त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा छन् । रासस