• २६ जेठ २०८२, सोमबार

गण्डक नहरको क्षमता विस्तार, ऊर्जा मन्त्रीद्वारा उद्घाटन

blog

नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजना अन्तर्गतका सेटलिङ्ग बेसिनको सोमबार आयोजीत उद्घाटन कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँ‍चाइ मन्त्री दीपक खड्का र प्रतिनिधी सभा सदस्य विनोद चौधरी लगायत । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, जेठ २६ गते । पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ । आज नवलपरासीमा एक कार्यक्रमका बिच नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाअन्तर्गतको सेटलिङ्ग बेसिनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रतिनिधि सभा सदस्य विनोद चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोग्दै आएको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध निर्माण गर्नुपर्छ। त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ र यसका लागि सरकार गम्भीर छ ।"

सोही अवसरमा पश्चिम नवलपरासी-१ बाट निर्वाचित सांसद विनोद चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएकाले यसको दीर्घकालीन समाधानका लागि ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले ६५ वर्षअघि नेपाल-भारतबिच भएको ऐतिहासिक गण्डक परियोजना सम्झौताबारे भारतीय पक्षसँग गम्भीर रूपमा संवाद गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

२०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो। अब यो नहर क्षमता विस्तार गरी सञ्चालनमा आएको छ।

उद्घाटन गरिएको नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन ३५ करोड लागतमा साढे दुई वर्षमा सम्पन्न भएको हो। सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिने छ, जसले नहरको पूर्ण क्षमतामा सिँचाइ गर्न मद्दत पुग्ने छ।