गजेन्द्र गुरुङ
खजुरा, जेठ २६ गते । बाँकेको डुडुवा गाउँपालिकास्थित आसमानपुरमा रहेको जयेन्दु बाल सुधारगृहमा रहेका अधिकांश बालबिज्याइँकर्ता (बालक)हरुमा छालासम्बन्धी रोगको सङ्क्रमण पाइएको छ । एडभोकेसी फोरम नेपालद्वारा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविरमा त्यहाँका बालकहरुमा छालारोग सङ्क्रमण पाइएको हो ।
स्वास्थ्य चेकजाँचका क्रममा जयेन्दु बाल सुधारगृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकहरुमा छाला रोगको सङ्क्रमण पाइएको स्वास्थ्य शिविरका संयोजन गरेका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सुधारगृहमा हाल रहेका २१७ जना बालकमध्ये १२० जनालाई स्वास्थ्य जाँच र औषधी उपचार सेवा प्रदान गरिएको थियो । अन्य बालकहरुलाई स्वास्थ्य परामर्श प्रदान गरिएको र तीन जनालाई थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ ।
अधिकांश बालकहरुमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जीमा, पिलो, दुबीको समस्या देखिएको उपचारमा संलग्न छालारोग विशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिनुभयो ।
बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईले सुधारगृहमा रहेका बालकहरुको संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभयो । स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै उहाँले अपराधमा कसुरको गम्भीर्यता हेरेर सजाय निर्धारण गरिने बताउनुभयो । स्वास्थ्य शिविरमा आफ्ना गुनासा राख्ने क्रममा एक बालकले बालकहरुले गल्तीको अनुपातमा बढी सजाय दिइने गरेको, बालबालिकाले पाउने छुटमा कन्जुस्याइँ हुने गरेको गुनासो गरेका थिए । उक्त गुनासोलाई सम्बोधन गर्दै न्यायाधीश प्रसाईले न्यायालय पनि कानुनको परिधिमा बाँधिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । बाल न्यायसम्बन्धी कानुन संशोधनको तयारी भइरहेको बताउँदै जुनसुकै अपराधको कानुनी विवादमा परेका बालकलाई अधिकतम सात वर्ष कैद सजायको प्रस्ताव गरिएको उहाँले जानकारी गराउनुभयो ।
बाँकेका सहायक प्रजिअ उमाकान्त अधिकारीले बाल सुधारगृहमा रहेका बालकहरुले आफ्नो स्वास्थ्यमा आफैँ जिम्मेवार र सचेत रहुनुपर्ने बताउँदै स्वास्थ्य उपचारमा आफ्नो समन्वयकारी भूमिका हुने बताउनुभयो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालले बिमामार्फत बालकहरुको निःशुल्क उपचार गर्न सकिने बताउँदै आगामी दिनमा उपचारमा आवश्यक सहयोग गर्ने जनाउनुभयो ।
सुधारगृहका इन्चार्ज बिमला काउचा मगरले बालकहरुमा छालारोग सङ्क्रमण रहेको उल्लेख गर्दै यसको रोकथामका लागि निरन्तर उपचारको आवश्यकता रहेको बताउनुभयो ।
कानुनी विवादमा परेका बालकहरुले आफ्नो गल्तीको महसुस गरे पनि १६ वर्षसम्म कैद सजाय गर्ने गरिएको, कानुनमा सजाय छुट र स्थगनको व्यवस्था भएको सुविधा पाउन नसकिएको, भविष्यमा सरकारी नोकरीमा अयोग्य नठहरिने व्यवस्था कानुनमा भए पनि सुधारगृहमा लोकसेवाको परीक्षा दिने व्यवस्था नभएको गुनासो गरेका थिए ।
सुधारगृह भ्रमणका क्रममा ठुलो सङ्ख्यामा कानुनी विवादमा परेका बालकहरुमा छालारोगको सङ्क्रमण फैलिएको पाइएको र उनीहरु उपचार पाउन नसकिरहेको सन्दर्भमा एडभोकेसी फोरमले स्वास्थ्य चेकजाँच तथा उपचारको व्यवस्था मिलाएको अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।
बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरमले बाँके जिल्ला अदालत, जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगन्ज, लायन्स क्लव अफ नेपालगन्जसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ छाला रोग विशेषज्ञ डा. अस्मिता गौतम, डा. जनक देवकोटा र अस्पताल नर्सिङ्ग निरीक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।