सिराज खान
नेपालगन्ज, फागुन २२ गते। ठुलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपाल भारत नाकाबाट नेपालगन्जतर्फ आउने सडकमा रहेको नेपालगन्ज–१६ चौलीका चोकबाट १०३ ग्राम ब्राउन सुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले विशेष सूचनाका आधारमा भारत रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेको यूपी ३२ डी.के ६७५१ नम्बरको भारतीय जिपमा ठुलो परिमाणमा ब्राउन सुगर आउँदै गरेको जानकारी पाएकोले प्रहरीले बाटोमै घेरा हालेर जिपलाई नियन्त्रणमा लिएर जाँच गर्दा १०३ ग्राम ब्राउन सुगर फेला परेको हो।
जिपमा सवार भारतको बहराइच सलारगन्ज घर भएका २१ वर्षीय इरफान कुरेसीबाट ८०.७० ग्राम र सोही ठाउँका १७ वर्षीय रिजवान कुरेसीको साथबाट २२.६० ग्राम ब्राउन सुगर बरामद गरेको हो।
प्रहरीले उनीहरूसहित ब्राउन सुगर र जिपलाई नियन्त्रणमा लिएर जिल्ला लागूऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सीमापारि रुपैडिहामा लागूऔषध ब्राउन सुगर खुला रूपमा खरिद बिक्री गर्न पाइने भएकाले पनि सेवन र कारोबार गर्नेले नाका पारी पुगेर सेवन गर्ने र ल्याउने गरेका छन्।
मुख्य नाकामा कडाइ गरिएकोले विभिन्न साइड नाकाबाट लागूऔषध भित्रिने गरेको छ।