रवीन्द्र उप्रेती
बर्दीबास, फागुन २२ गते । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसक्दा (नो केन) मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार क्षमताअनुसार मिल सञ्चालन हुन दैनिक ४० हजार क्विन्टल उखु आवश्क पर्छ । त्यसबाहेक पनि कारखाना परिसरमा १० हजार क्विन्टल उखु जगेडा चाहिन्छ ।
एभरेष्टले पुस ४ गतेदेखि क्रसिङ सुरु गरेको थियो । फागुन तेस्रो सातादेखि उखु आपूर्ति दैनिक २० देखि २५ हजार क्विन्टलमा झरेपछि शुक्रबारदेखि ‘नो केन’ भएको उहाँले जनाउनुभयो ।
‘नो केन’ का कारण दुई दिन बिराएर मिल चल्न थालेको छ । यो अवस्थाले चिनी उत्पादन प्रभावित हुनुका साथै कारखानाले दैनिक लाखौं मूल्य बराबरको क्षति व्यहोर्नुपरेको प्रविधिकले जनाएका छन् ।
कुनै पनि कारणले एक दिन क्रसिङ रोकिँदा चिनी बन्ने प्रक्रियामा रहेका ३० हजार लिटरभन्दा बढी उखुको रस (केन जुस) र स्टीम बनाउने इन्धनको क्षति हुन्छ । लेबर र उत्पादन लागतसमेत बढ्न गई उद्योगले दैनिक १० लाख जतिको क्षति व्यहोर्नुपर्ने प्राविधिक शाखाले जनाएको छ ।
आवश्यक उखु आपूर्ति हुन नसकेपछि मिलले सार्वजनिक सूचना जारी गरी बाँकी रहेका उखु सक्दो छिटो उपलब्ध गराउन किसानलाई आग्रह गरेको छ ।
एभरेष्टले यो वर्ष (२०८०/८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु क्रसिङ गरी तीन हजार ६ क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । उखु अभावले क्रसिङ र उत्पादन दुवैमा कमी आएको शुक्लाले बताउनुभयो ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाका अनुसार किसानका खेतमा उखु सकिँदै गएकाले मिल गेटमा उखु आपूर्तिमा कमी आएको हो ।
क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसर बाहिर महोत्तरी र सर्लाहीका ३३ वटा खरिद केन्द्रमार्फत १० लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था गरिएको थियो । उखु खेत रित्तिँदै गएकाले धेरैजसो खरिद केन्द्रहरु बन्द भइसकेका छन् । यसले गर्दा उखु आपूर्ति पनि कम हुँदै गएको उहाँले बताउनुभयो ।
कुशवहाले पूर्ण क्षमतामा मिल सञ्चालन गर्न उखु उत्पादनमा वृद्धि एक मात्र विकल्प भएको बताउनुभयो । यसका लागि सरकार र उद्योगीले किसानको श्रम र लागतको मूल्याङ्कन गरी उखुको उचित मूल्य तोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
‘उत्पादन लागतको आधारमा मूल्य नपाउँदा उखुु खेतीप्रति मोहभङ्ग हुँदै गएको छ । समय अगावै ‘नो क्यान’ को अवस्था यसैको असर हो । राज्य र उद्योगी गम्भीर नभए आउँदा वर्षहरुमा उखु अभाव थप गहिँरिदै जाने निश्चित रहेको उहाँले भन्नुभयो ।