• ४ जेठ २०८३, सोमबार

सिटी सफारी चोरीमा संलग्न १० जना पक्राउ

blog

चोरी भएको सिटी सफारी । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ४ गते । झापामा सिटी सफारी र यसमा प्रयोग हुने ब्याट्री तथा विभिन्न सामग्रीहरू चोरीमा संलग्न रहने गरेको १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहमा ४ जना भारतीय नागरिक छन् ।

पक्राउ परेकाहरूबाट चोरी भएका ७ वटा सिटी सफारीसहित २१ लाख ५५ हजार रुपियाँ बराबरको सिटी सफारीमा प्रयोग हुने ब्याट्री लगायतको सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर, बिर्तामोड र काँकडभिट्टा क्षेत्रबाट पार्किङमा राखिएका सिटी सफारी विभिन्न समयमा चोरी भएपछि प्रहरीलाई खोजी गरिदिन सिटी सफारीका चालकहरूले जाहेरी दिएका थिए । प्रहरीले विशेष टोली बनाएर चोरीमा संलग्नहरूको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिसी टिभी फुटेजको आधारमा प्रहरीले चोरीमा संलग्नहरूको पहिचान गरेर उनीहरूमाथि निगरानी बढाएको थियो । पक्राउ परेकामध्ये तीन जना सिटी सफारी चोरीमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ । अन्यले चोरीका ब्याट्री खरिद तथा बिक्रीमा संलग्न रहेका छन् ।

प्रहरीले चोरी भएका ७ वटा सिटी सफारी, २० थान ब्याट्री र एक थान चार्जिङ कन्ट्रोलर बरामद गरेको खड्काले जानकारी दिनुभयो । बरामद सामानको अनुमानित मूल्य २१ लाख ५५ हजार रुपियाँ रहेको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान सुरु भएको छ ।

प्रहरीका अनुसार चोरीमा प्रत्यक्ष संलग्न अभियुक्तहरूमा मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपककुमार सरदार), बिर्तामोड–७, मियाँबारीका ३१ वर्षीय मोहमद सलिम र मेचीनगर–१०, ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिशेक उराउ रहेको बताइएको छ । 

यसैगरी चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा बिक्रीमा संलग्न आरोपमा बिर्तामोड–५ का ४३ वर्षीय नसिम अख्तर, अर्जुनधारा–६ मा बस्दैआएका भारत विहार किसनगन्जका २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा–८ का ३२ वर्षीय सञ्जय चौधरी, मेचीनगर –७ इटाभट्टाका २० वर्षीय डिकेश राजवंशी रहेका छन् । 

त्यस्तै, भारत पश्चिम बङ्गाल पानीटङ्कीका ३२ वर्षीय पान बर्मु, बेलङ्गा थाना निवासी ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र बरमपुर थाना निवासी ४७ वर्षीय आख्तरुल शेखलाई प्रहरीले  पक्राउ गरेको छ ।