देवराम यादव
सप्तरी, जेठ ४ गते । सप्तरीमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–८ का ५५ वर्षीय कलुवा भन्ने हनिफ मियाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–८, विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको प्र.२–०१–००१ त १७१३ नम्बरको ट्याक्टर र हनिफ मियाले चलाएको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मियाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो ।
दुर्घटनापछि फरार रहेका ट्याक्टरका धनी रुपनी गाउँपालिका–६ का शिवनारायण महतोलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । महतोमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।