• ४ जेठ २०८३, सोमबार

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ओली

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओली सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्नुहुँदै । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले कुवेतलगायतका मुलुकहरूमा नेपाली महिलालाई मानव तस्करहरूले १० देखि १२ लाख रुपियाँमा वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको उल्लेख गर्दै त्यस्ता गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा लैजाने क्रम नरोकिएको बताउँदै त्यसमा कडाइका साथ निगरानी गर्न सरकारलाई सचेत गराउनुभयो ।

“शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो, सभामुख महोदय । यस्ता हजारौँ घटनाहरू छन् । यी सबै घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्छ । नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलालाई घरेलु कामका लागि विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो, शोषणबाट सुरक्षा दिनु। के यो प्रतिबन्धले साँच्चै महिलालाई सुरक्षित बनायो त ? प्रतिबन्धका बाबजुद पनि घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन ।,” उहाँले भन्नुभयो,  “हाम्रा महिलालाई खाडी देशसम्म पुर्‍याउन एजेण्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । कहिले भारत हुँदै सीमा पार गराइन्छ, कहिले तान्जानियालगायत अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ । एजेण्ट जताततै नेपाली नै छन् । त्यसैले मानव बेचबिखनमा संलग्न यस्ता एजेण्टहरू नियन्त्रणमा लिन आवश्यक छ । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाख रुपियाँमा नेपाली महिलाहरू बेचिरहेका छन् ।”

उहाँले सरकारले वैदेशिक रोजगारीका कारण पीडा भोग्न बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।