राधा लुइटेल
फिदिम, जेठ ४ गते । पाँचथरको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा १ हजार २ सय ४१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र उपचार सेवा लिएका छन् ।
गाउँपालिकाले आयोजना गरेको शिविरमा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण तथा उपचार व्यवस्थापन सँगै सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण, राष्ट्रिय परिचयपत्र वितरण, पशु स्वास्थ्य औषधी तथा कृषि बिउ–विषादी वितरणलगायत सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभयो ।
शिविर अवधिमा १ हजार ९२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने १ सय ८५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र र ५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
शिविरमै एक सय २१ किसानलाई घर पालुवा पशु चौपायाका लागि औषधी वितरण र कृषि बालीका बिउ–विषादी वितरण गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचापका २ सय ५८, मधुमेहका ३५, दमका ४४, ग्यास्ट्रिक तथा पेटसम्बन्धी रोगका १ सय ३७, नसासम्बन्धी रोगका १ सय ७८ जना बिरामी फेला परेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले बताउनुभयो ।
अन्य विभिन्न रोगका ५ सय ८९ जना बिरामीलाई समेत उपचार तथा परामर्श सेवा दिइएको उहाँको भनाइ छ । शिविर सबै वडामा सञ्चालन गरिएको थियो ।