• ४ जेठ २०८३, सोमबार

सेती–मादी पुल निर्माणले गति लिएपछि स्थानीय खुसी

blog

सेती–मादी नदीमाथि निर्माणाधीन मोटर गुड्ने पुल । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ ४ गते । तनहुँको व्यास नगरपालिका–३, देउराली नगर र ऋषिङ गाउँपालिका–१, झापुटार जोड्ने सेती–मादी नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको कामले पछिल्लो समय तीव्रता पाएको छ । 

लामो समयदेखि ढिलाइ हुँदैआएको निर्माण कार्यले गति लिएपछि स्थानीय बासिन्दामा खुसी छाएको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार पुल निर्माण ढिलाइप्रति स्थानीयले निरन्तर चासो र दबाब दिँदैआएका थिए । 

हाल कामले गति लिएपछि स्थानीयमा सकारात्मक भावना देखिएको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुष्मा पाण्डेका अनुसार आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको छ । 

निर्माणमा ढिलाइ भइरहेको ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएपछि हाल जडान कार्य तीव्र रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो । पाण्डेका अनुसार पुलका लागि आवश्यक सबै स्टिल पाट्र्स निर्माणस्थलमा आइपुगेका छन् । 

यसअघि जग र पिलरको काम सम्पन्न भइसके पनि सामग्री अभावका कारण जडान कार्य रोकिएको थियो । अहिले निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी जडान कार्यलाई तीव्रता दिएको छ । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको १५५ मिटर लामो ‘स्टिल ट्रस’ पुल दक्षिण तनहुँको ‘लाइफलाइन’ मानिन्छ । २०७७ मङ्सिर १९ गते सम्झौता भएको यस आयोजनाको कुल लागत ३२ करोड ४० लाख २७ हजार रुपियाँ रहेको छ । पुल सञ्चालनमा आएपछि ऋषिङ गाउँपालिकासहित दक्षिण तनहुँका बासिन्दालाई सदरमुकाम दमौली आउन सहज हुने अपेक्षा गरिएको छ । हाल निर्माणस्थलमा कामदार र उपकरणको परिचालन बढाइएको कार्यालयका अधिकारीहरूको भनाइ छ ।