• २१ वैशाख २०८२, आइतबार

मनमोहक महादेवी आमायाङ्ग्री

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, फागुन २१ गते । सिन्धुपाल्चोकको ह्योल्मोभूमि हेलम्बुलाई दर्जनौँ कलात्मक र मनमोहक गुम्बा र मानेछोर्तेनको सहरका रूपमा लिने गरिन्छ । हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमा भेगमा महादेवी आमायाङ्ग्री गुम्बाले जो कोहीको मन लोभ्याउँछ । वरिपरि लोभलाग्दो हिमशृङ्खला, बौद्ध मन्त्र लेखिएका दज्र्युका ध्वजापताका, फराकिलो जङ्गलका दृश्यले मनै लोभ्याउँछ । आमायाङ्ग्री पुग्ने जो कोही त्यहाँबाट फर्कन मन गर्दैनन् ।

यहाँबाट सेमिसिदाङ्गाउङछम्बे, दोर्जेलाक्पा, पाँचपोखरी युवा पिक जस्ता आधा दर्जन हिमशृङ्खला देख्न सकिन्छ । यस्ता मनमोहक दृश्यावलोकनका लागि आन्तरिक र बाह्य गरेर दैनिक ५० जनाभन्दा बढी पर्यटक तीर्थ र भ्रमणका लागि आउने गर्छन् । बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बीको यहाँ घुइँचो लाग्ने गर्छ । आमायाङ्ग्रीमा विश्व कल्याणका लागि परम्परागत पूजापाठ गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

समुद्री सतहभन्दा तीन हजार ७७० मिटरको उचाइमा आमायाङ्ग्री रहेको छ । धार्मिक इतिहासमा आमायाङ्ग्री बौद्ध धर्म गुरु रिन्पोछेसँग जोडिएको छ । आमायाङ्ग्री क्षेत्रमा बौद्ध धर्मका प्रसिद्ध बज्रयान सम्प्रदायका महागुरु रिन्पोछेले गुप्त निधि लुकाएको मानिँदै आएको छ । रिन्पोछेको चार वटा गुप्त स्थानमध्ये ह्योल्मो क्षेत्र आमायाङ्ग्री आएर रक्षा गर्न बसेको मान्यता छ । बौद्ध धर्मको महान् तीर्थ क्षेत्र भएकाले आमायाङ्ग्री आएर पूजापाठ गरेमा पाप मुक्त हुने विश्वास रहेको छ । 

आमायाङ्ग्रीमा ह्योल्मो समुदायकै अगुवाइमा ध्यान र पूजापाठ हुने गर्छ । हेलम्बुको परम्परागत छेन्यु पूजामा सहभागी हुन पाइन्छ । हिमशृङ्खला, प्राकृतिक बनोट, ह्योल्मो समुदायको सत्कार संसारकै उत्कृष्ट रहेकाले पर्यटकले दर्जनौँ दिन हेलम्बु क्षेत्रमा बिताउने गर्छन् । बास र खानपिनका लागि होमस्टे, होटल प्रशस्तै भएका कारण पर्यटक धेरै दिन हेलम्बु क्षेत्रमै बस्ने गरेका छन् । 

अध्यक्ष शेर्पाले प्राकृतिक बनोटको सुन्दरता, गुम्बा नै गुम्बाको सहर हेलम्बुलाई पर्यटकमय बनाउने कार्य गरिरहेको बताउनुभयो । हेलम्बुमा गे्रट टे«ल निर्माण, गुम्बाको पुनर्निर्माण, सडक सुधारका साथै वेशभूषा, कला, संस्कृति, रीतिरिवाजका माध्यमले पर्यटक भिœयाउने कार्य भइरहेको उहाँको भनाइ छ ।